हत्या आरोपित सांसद महतोको बचाउमा महासेठ, भने– उहाँ प्रधानमन्त्री बन्न सक्नुहुन्छ

नेकपा एमालेका सांसद रघुवीर महासेठले हत्या आरोप लागेका सांसद लक्ष्मी महतो कोइरीको बचाउ गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिने क्रममा उनले कोइरीको बारेमा अहिले अनावश्यक हल्ला भइरहेको भन्दै बचाउ गरेका हुन् । 

‘लक्ष्मी महतोलाई अपराधी भन्ने हामीले चर्चा गर्ने गरेका छौँ, त्यो नगरौँ । लक्ष्मी महतो पनि यो देशमा प्रधानमन्त्री बन्न सक्नुहुन्छ । मन्त्री बन्न सक्नुहुन्छ किनकी उहाँ अहिले माननीय हुनुहुन्छ । भोलि माननीय नबन्नुहोला त्यो कसैलाई थाहा छैन । हामी अहिले उहाँको बारेमा चाहिने/नचाहिने कुरा गरेर हिँडेका छौँ,’ पूर्वमन्त्री समेत रहेका महासेठले भने ।  

उनले गृह मन्त्रालयलाई कानुनअनुसार काम गर्न पनि आग्रह गरे । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । ४ मंसिरमा निर्वाचनमा एमालेबाट विजयी भएका उनी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।

२५ भदौ २०७२ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले २ असोज ०७६ कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो  ।

जनकपुर उच्च अदालतले १९ मंसिर ०७७ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो  । त्यसयता उनी फरारको सूचीमा छन् ।





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १४:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया