मधेसका विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय विभाजन गर्दै जिम्मेवारी तोकेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

मुख्यमन्त्री यादवले बाँकी ७ वटा मन्त्रालय भने हाल आफैँसँग राखेको बताइएको छ । 
पुस २७ गते तीनजना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री यादवले विनाविभागीय मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।

पुस २९ गते मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए । 

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका थिए । 



मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका थिए । 

यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । 



यता, मधेस प्रदेश सरकारको सत्ता साझेदार दलहरुको छलफलबाट एक÷दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि मधेस प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन ।

  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार २०:१४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया