मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् । पिँढीदर पिँढीरूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ ।   

जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् । गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर पूजा गरिँदै छ ।

हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ । किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताए । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने गर्दछन् । 

श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिसाएर प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन् । मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन् । 

आजैका दिनदेखि आ–आफ्नो बाँझो खेतबारी जोत्ने कामको शुभारम्भ गर्दछन् । मिथिलाञ्चलको गाउँ–गाउँमा आज सयौं गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरूपमा राखेको देख्न पाइन्छ ।   





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार ७:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया