के प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको नाममा गैरदलीय व्यक्ति ल्याउन चाहेका हुन् ?

नेकपा माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्र्णय गरेको छ । योसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । 

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा समर्थन तथा विश्वासको मत जुटाउँदा गरेको गठबन्धनमा राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर, संसदमा २ जना सांसदबाहेक अरु सबैको विश्वासको मत पाएपछि प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनु पर्ने मात्रै बताएका छैनन्, उनले आफूलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग पनि यस विषयमा छलफल गर्नु पर्ने बताउँदै आएका छन् । 

२६ पुसमा संसदमा विश्वासको मत लिएका प्रचण्डले त्यसलगत्तै केही सन्चारमाध्यममा सम्पादकहरुसँग छलफलको कार्यक्रम आयोजना गरेका थिए । त्यो कार्यक्रममा उनले नेपाली कांग्रेसले आफूलाई पनि विश्वासको मत दिएको भन्दै अब उसको जिम्मेवारी पनि आफ्नो काँधमा आएको बताएका थिए ।

प्रचण्डलाई विश्वासको मत दिएलगत्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरेर अगाडि बढे मात्र देश गम्भीर दुर्घटनाबाट बच्ने बताउँदै आएका छन् ।

नेपाली कांग्रेसका कतिपय नेताहरुले प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिनु भनेकै राष्ट्रपतिमा आफू निर्वाचित हुन खोज्नु हो भन्ने धारणा पनि राखेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पार्टीका बैठक तथा निकटवर्तीहरुसँग नेपाली कांग्रेसबाट राष्ट्रपतिमा दुई जना उम्मेदवार हुने बताउन थालेका छन् । उनले पछिल्लो समय लिएका दुई नाम हुन्– रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला ।

अर्कोतिर, सत्तामा जानका लागि प्रचण्डलाई सहयोग गरेको नेकपा एमालेले सहमति भएअनुसार राष्ट्रपतिमा आफ्नो दाबी छाडेको छैन । यस्तो अवस्थामा माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय हुनुलाई चासोका साथ लिनु स्वाभाविक हो ।



नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई हामीले के नेकपा माओवादी केन्द्रको यस्तो निर्णय आउनुले राष्ट्रपतिमा गैरदलीय व्यक्ति चयन हुने सम्भावना बढेको हो भनेर सोधेका थियौँ ।

‘त्यस्तो होइन, अहिले हामी अहिलेको गठबन्धन बिग्रियोस् वा भत्कियोस् भन्ने पक्षमा छैनौँ,’ उनले भने, ‘अहिले गठबन्धनलाई नै जोगाएर सबैसँग मिलेर राष्ट्रपति पदका लागि निर्वाचनमा जान सकिन्छ भन्ने आजको बैठकको निष्कर्ष हो । बैठकमा गैरदलीय व्यक्तिको विषयमा चर्चा भएको थिएन ।’



यसअघि नेकपा एमालेसँग राष्ट्रपति उसलाई दिने भन्ने सहमति नभएको प्रचण्डले त्यही सम्पादकहरुसँगको बैठकमा नै बताएका थिए । ‘तर, अहिले एमालेलाई धोका दिन खोजेकाले यस्तो निर्णय गरिएको होइन,’ गजुरेलले फरकधारलाई बताए ।

तर, नेपाली कांग्रेसका एक सांसद प्रचण्डले आफूलाई सत्तामा टिकाइराख्नका लागि गैरदलीय व्यक्तिलाई राष्ट्रपतिमा लैजान खोजेको दाबी गर्छन् । ‘उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका एस म्यानलाई कुनै पनि हालतमा राष्ट्रपति बनाउन चाहँदैनन्,’ उनले दाबी गरे, ‘त्यसैले उनले राष्ट्रिय सहमतिको विषय बाहिर निकालेका हुन् । त्यसका लागि कांग्रेसको पनि साथ लिन सकेको खण्डमा भोलि एमाले सरकारबाट बाहिरिएको खण्डमा पनि आफू प्रधानमन्त्रीमा रहिरहन सक्ने गणितीय अभ्यासमा प्रचण्ड अहिले छन् ।’

उनका अनुसार प्रचण्डले राष्ट्रपतिमा कोही न्युट्रल व्यक्तिलाई ल्याउन सकेमा एमालेले साथ छोड्दा पनि कांग्रेसले साथ दिने अनुमानमा प्रचण्ड छन् । ‘त्यसैले राष्ट्रपतिमा नेकपा माओवादी केन्द्रबाट गैरदलीय व्यक्तिको प्रस्ताव आउन सक्ने सम्भावना छ,’ उनले भने ।

  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार २१:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया