महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरुरी : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन् । मानव अधिकारका लागि महिला समूहद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो । यहाँ तपाईँहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे-जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ ।’ 

प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताए। उनले भने, ‘यो न्यायोचित माग हो ।  यसमा हामी छलफल गर्नेछौँ । एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे-जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन् । तिनीहरू सम्बोधन गरिनेछ ।’

२७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे ।  प्रधानमन्त्री प्रचण्डले भने, ‘यस अवधिमा तपाईंहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु ।’

महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हजारौँ महिलाले मुक्ति र परिवर्तनका निम्ति सङ्घर्ष गरेको स्मरण गर्दै उनले भने, ‘गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको सङ्घषघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ । उहाँहरुलेसङ्घर्ष र बलिदानीको उच्च कीर्तिमानी नराखेको रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ ।’ 

महिलाको सहभागिता र भूमिकाबिना संसारमा कहीँ पनि परिवर्तन नभएको भन्दै उनले महिलाको सङ्घर्षका कारण आज राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए । 





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १३:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया