२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

मधेस प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले गरे पदभार ग्रहण
राजश्व बृद्धिका लागि कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन

मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन् । बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आइतबार दिउँसो पदभार ग्रहण गरेका हुन् । 


पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजश्वलाई बृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् । 



उनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौती गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए । 

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पुस २९ गते विनाविभागीय मन्त्रीहरूसँगै शपथ लिएका थिए ।



मुख्यमन्त्री यादवले माघ १२ गते विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मुख्यमन्त्री यादवले प्रदेशका बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेस प्रदेशको सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति जुट्न नसक्दा सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री यादवले सम्भवतः सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । 



  • प्रकाशित मिति : १५ माघ, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया