सांसद अरुण चौधरी १० वर्षदेखि फरारको सूचीमा

नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी १० वर्षदेखि फरार सूचीमा रहेको खुलेको छ । चौधरीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले ९ वैशाख २०७० मा ६ महिना कैद तोकेको भेटिएको हो । 

चौधरीसहितविरुद्ध ३ भदौ २०६५ मा लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो । हालको लम्कीचुहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो । 

सो मुद्दामा ट्याक्टर जलाएर ८ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुर्याएको दाबी ट्याक्टरका मालिक महादेव वजगाईंले गरेका थिए । अदालतले तिनै जनाबाट बिगो रकम असुल्नसमेत आदेश गरेको पाइएको छ ।

सो मुद्दामा लम्कीचुहाकै पर्शुराम चौधरी र वीरबहादुर चौधरी दोषी ठहरिएका थिए । शुक्रबार वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरी फरार सूचीमा रहेको खुलासा भएको हो । 

२०७४ मा लम्कीचुहाको मेयर र प्रदेशसभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका हुन् । 



अदालतले सांसद चौधरीलाई फरार सूचीमा राखे पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन । पक्राउ परेका वीरबहादुर चौधरीले कारागार कार्यालय कैलालीमार्फत नगद दाखिला गरी कैद मुक्त गराइ पाउँ भन्ने निवेदन दिएकामा कैलाली जिल्ला अदालतले त्यसलाई अस्वीकार गरेको छ ।



  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार ९:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया