राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई बेलाबखत नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुने गरेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा विहानी निराशा/विहानी दृढता भनेर त्यस्तो लेखेका हुन् ।
‘सबै हेर्दा र बुझ्दा,म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत। दुई पटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ,’ उनले लेखेका छन्, ‘तर फेरी 'गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो' भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न सक्थ्यो र? "यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन" भनेर त्यसै भनेको कहाँ हुँ र! (विहानी निराशा/विहानी दृढता)’
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग मिश्र पराजित भएका हुन् । मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका थिए भने मिश्रले ७ हजार ११ मत प्राप्त गरेका थिए ।
यसअघि २०७४ सालको निर्वाचनमा पनि सिंहले नै मिश्रलाई पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ रहेको थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।