सांसद चौधरी पक्राउ परेपछि अध्यक्ष श्रेष्ठले भनिन् - सरकारले थारुलाई मात्रै अपराधी देख्यो
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसद अरुणकुमार चौधरी समातिएको घटनामा धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै उनले कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई नियन्त्रणमा लिएको विषयमा विरोध जनाएकी हुन् ।

‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ’ उनले फेसबुकमा संक्षिप्त प्रतिक्रिया लेखेकी छन् । सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो। तर उनले कैद भुक्तान नगरेर फरार थिए। उनलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो। 

कैलाली जिल्ला अदालतको आदेश अनुसार सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्की चुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।

ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । चालक साजन चौधरीले उनीहरूले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए । 

पक्राउ परेका सांसद अरुणकुमार चौधरी

जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् । जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्‍यो र उनीहरूलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्‍यो । ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीलाई ६/६ महिनाको दरले कैद सजाय तोकियो ।



क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भयो । फैसला भएको एक दशकसम्म पनि आरोपितहरू फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ



पक्राउ परेका सांसद चौधरीलाई धनगढी ल्याउन सुरक्षा चुनौती, हवाई मार्गबाट काठमाडौं लगिने

  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १७:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया