नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि धनगढी पुर्‍याएका चौधरीलाई शुक्रबार बिहान कैलाली जिल्ला अदालतमा बुझाएको थियो।

अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि कैलाली जिल्ला अदालतले १० वर्षअघि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन ।  त्यो फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले करिब १० वर्ष पहिले चौधरीलाई ६ महिना कैद फैसला सुनाएको थियो । अदालतको उक्त फैसला अनुसार कैद सजाय भुक्तान नगरेका चौधरी प्रतिनिधि सभा निर्वाचन २०७९ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

चौधरी सहित पर्शुराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए ।

त्यसको केही वर्ष पछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए । सोही घटनामा प्रहरीले शुक्रबार वीरबहादुर चौधरीलाई पक्राउ गरेको थियो ।

 २०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार ११:१८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया