मधेस सरकारको दोस्रो कार्यकालमा पहिलो पटक महिलालाई मन्त्रीको जिम्मेवारी

सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारमा एक महिला मन्त्री बनेकी छन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ शपथ ग्रहण गरे । स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएर हालै जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी सुरिता कुमारी साहलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ दलहरूमध्ये तीन पार्टीबाट सरकारमा मन्त्री सहभागी भएका छन् । तीमध्ये जसपाले मात्रै प्रदेश सरकारको दोस्रो कार्यकालमा पहिलो पटक महिलालाई मन्त्री बनाएको हो। मन्त्रिपरिषद्मा चार मन्त्री र एक राज्यमन्त्री पाएको यादव नेतृत्वको सरकारमा मुख्य घटक जसपाले महिला सांसदलाई मन्त्रीमा पठाएको छ ।

मधेश प्रदेशसभाको कूल ६४ सिटमध्ये ४ सिटमा महिला उम्मेदवार विजयी भएका थिए । जसमध्ये एक स्वतन्त्र उम्मेदवारका रुपमा सुरिता पनि विजयी भइन् । उनी महोत्तरी क्षेत्र नम्बर २ (ख)बाट विजयी भएकी हुन् । ५६ वर्षीय साहले ८ हजार ५६८ मत ल्याएर विजयी भएकी थिइन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेश्वर यादवलाई पराजित गर्दै साह विजयी भएकी थिइन् । 

त्यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेकी सुरितालाई असोज २८ गते पार्टीबाट निष्काशन गरिएको थियो । लोसपा अध्यक्ष महन्थ ठाकुरले साहलाई पार्टीको सम्पूर्ण पद तथा जिम्मेवारीबाट हटाएका थिए । महोत्तरी क्षेत्र नं. २ (ख) बाट पार्टीको सहमतिविपरीत स्वतन्त्र भई बागी उम्मेद्वारी दिएकोले साहलाई पार्टीबाट निष्काशित गरिएको थियो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा लालटिन चुनाव चिन्हबाट स्वतन्त्र विजयी भएकी साहले स्नातकोत्तर गरेकी छन् । महोत्तरीको क्षेत्र नं २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता माघ ८ गते आइतबार जसपामा प्रवेश गरेकी थिइन् । विसं. २०२२ फागुन ११ गते जन्मिएकी साह यसअघि सामाजिक क्षेत्रमा सक्रिय थिइन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह, महोत्तरी ३ (ख) बाट लोसपाकी रानी कुमारी तिवारी र सर्लाही १ (ख) बाट नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली मात्रै निर्वाचित महिला सांसद हुन् । 



प्रदेशका ८ जिल्लामध्ये महोत्तरी र सर्लाहीबाहेक अन्य ६ जिल्लाबाट प्रदेशसभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रह्यो ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन समानुपातिक कोटाबाटै महिला सांसद चयन भए । प्रत्यक्षतर्फका ६४ र समानुपातिकतर्फका ४३ गरी कुल १०७ सांसद चुनिएको यस प्रदेशमा समानुपातिकबाटै महिला सहभागिता करिव ३७ प्रतिशत पुर्याइएको छ । मधेस प्रदेशसभामा ३९ महिला सांसद चुनिएका छन् । प्रत्यक्षबाट ४ महिला मात्रै निर्वाचित रहेको यस प्रदेशमा समानुपातिकतर्फ थप ३५ महिला सांसद चुनिएका छन् । 



यस प्रदेशमा ५२ प्रतिशत महिलाहरूको मत निर्णायक बन्दा पनि महिलाको प्रतिनिधित्व भने ३३ प्रतिशत मात्र हुनु र त्यो पनि समानुपातिक कोटाबाट पूर्ति गर्नु सुहाउँदो कुरा नरहेको नवनिर्वाचित सामाजिक विकास मन्त्री सुरिता साहले भनिन् । 

५० प्रतिशत प्रतिनिधित्वको माग गर्दै आवाज उठाइरहेको भए पनि ३३ प्रतिशतसमेत कार्यान्वयन नहुनु दुःखद रहेको उनले बताइन् । उनले भनिन्, ‘ठूलो लडाइँबाट ३३ प्रतिशत प्रतिनिधित्वको अधिकार ल्यायौँ, तर प्रत्यक्षतर्फ नै महिलाहरूको ३३ प्रतिशत खोई ? यता, हामीहरू ५० प्रतिशत महिला अधिकारको कुरा गर्दैछौँ ।’ 

उनले महिलाको सहभागिताको सवालमा सबभन्दा ठूलो दोषि राजनीतिक दलहरू रहेको जिकिरसमेत गरिन् । प्रदेशसभाबाट यसको कार्यान्वयनका लागि आफूले दबाबमूलक कार्य थालनी गर्नेसमेत योजना रहेको साहले बताइन् ।

सर्लाही १ (ख) बाट निर्वाचित नेकपा एकीकृत समाजवादीकी बेची लुंगेलीले मधेस प्रदेशमा प्रमुख राजनीतिक दलहरूले पनि प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदवार बनाउने सम्बन्धमा उपेक्षा गरेको आरोप लगाइन् । उनले महिलाहरूलाई पनि प्रत्यक्ष निर्वाचन लड्न आँट र साहस गर्नुपर्ने आवश्यकता रहेको समेत बताइन् ।

जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का साथै उद्योग, पर्यटन तथा वन मन्त्रालय आफूसँग राखेका छन् भने संजय यादवलाई अर्थ मन्त्रालय, सुरिता कुमारी साहलाई सामाजिक विकास मन्त्रालय, सिंगासन सा कलवारलाई खानेपानी तथा उर्जा विकास मन्त्रालय र शेख अबुकलाम आजादलाई सामाजिक विकास मन्त्रालयको राज्यमन्त्री बनाएका छन् । 

नेकपा एमालेले पाएको ४ मन्त्री र १ राज्यमन्त्रीमा सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, राजकुमार लेखीलाई कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय, शत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालय र मो. जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ भने आज मात्र प्रवेश गरेका केशव राय चौधरीलाई गृह तथा सञ्चार मन्त्रालयको राज्यमन्त्री बनाइएको छ । 

उता, जनमत पार्टीको भागमा परेको २ मन्त्री र १ राज्यमन्त्रीमा संसदीय दलका नेता महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री बनेका छन् भने बसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । त्यस्तै, संजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ । 

  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार २०:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया