सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्नेमा राष्ट्रपतिकाे जाेड

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने बताएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज काठमाडौं उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँगको भेटमा उनले काठमाडौं उपत्यकामा बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण दैनिक ट्राफिक जामको समस्या भोगिरहेको हुँदा त्यसलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएकी हुन्।

'हामी सबैले दैनिकरूपमा अनुभव गर्ने एउटा समस्या सवारी जाम हो, बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण हामीले दैनिकरूपमा ट्राफिक जामको समस्या भोगिरहेका छौँ,' राष्ट्रपति भण्डारीले भनिन्, 'यो समस्या समाधानका लागि सडक चौडा गरेर मात्र पुग्दैन, साना सवारी साधनभन्दा ठूला सवारी साधनलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनु पर्दछ ।'

उपत्यकामा सवारी साधनको पार्किङको समस्या पनि जल्दोबल्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले यो समस्याको दिगो समाधानका लागि नगरपालिका तथा सम्बद्ध निकायहरूले समन्वयात्मक पहल गर्नु आवश्यक रहेको बताइन् ।

स्थानीय तहहरू मुलुकको आर्थिक प्रगतिका आधारभूत एकाइ हुनाका साथै सङ्घीय र प्रदेश सरकारका नीतिहरूलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण जननिर्वाचित अङ्ग भएको र संविधानप्रदत्त अधिकार र कर्तव्यलाई जनताको आर्थिक समृद्धिको आकाङ्क्षासँग जोड्न सके मात्र मुलुक निर्माणको सपना साकार हुन सक्ने उनको भनाइ थियो ।

उपत्यकाभित्र र बाहिर रहेका महानगर तथा पालिकाहरूका बीचमा समन्वय हुन सकेको खण्डमा सागसब्जी, फलफूल, खाद्यान्न, पुष्प उत्पादन जस्ता कृषि उपजको बजार व्यवस्थापन तथा उपभोक्तालाई राहत दिने कार्यमा सहजीकरण हुन सक्ने उनको भनाइ थियो ।
    
स्वास्थ्य, शिक्षा, व्यापार व्यवसाय तथा रोजगारीको अवसरका कारण समेत मुलुकभरिबाट राजधानी आउनुपर्ने अवस्थाले काठमाडौँ उपत्यकामा जनसङ्ख्याको अत्यधिक चाप बढ्न गएको कारण यातायात, खानेपानी तथा सरसफाइ, ढल व्यवस्थापन, नदी प्रणाली व्यवस्थापनमा चुनौती उत्पन्न भएको उनको ठम्याइ छ । 





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार २०:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया