सांसद–मन्त्री सवाल–जवाफ

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सम्बन्धित विषयमा प्रश्न सोधेका छन् । बैठकमा सांसद डा. डिला संग्रौलाले देशभरिका अधिकांश बालविकास केन्द्रमा भौतिक तथा शैक्षिक सामग्रीको अभाव रहेको र शिक्षकले तलब नपाइरहेको भन्दै यस्ता समस्या समाधान गर्न के कार्ययोजना छ ? भनी प्रश्न गरेकी थिइन् ।

जवाफमा मन्त्री पोखरेलले बालविकास केन्द्रमा भौतिक पूर्वाधार वृद्धि गरिएको र शिक्षकको सेवा र सुविधा बढाइएको बारेमा जानकारी दिए । साथै, उनले यसका लागि स्थानीय तहमा बजेट विनियोजन गरिएकाले सोहीअनुसार काम हुने बताए । 

यस सम्बन्धमा सबै प्रदेशका सामाजिक विकासमन्त्रीसँग पनि छलफल गरी आवश्यक काम अघि बढाइएको उनले बताए । उक्त प्रश्नका सम्बन्धमा सांसद संग्रौला, प्रेम सुवाल, लक्ष्मी परियार, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, रेखा कुमारीलगायतले पुरक प्रश्न गरेका थिए । 

पुरक प्रश्नको उत्तरमा मन्त्री पोखरेलले बालबालिकाको पढाइ र सिकाइप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै शिक्षा सरकारको दोस्रो प्राथमिकतामा परे पनि धेरै आवश्यक रहेको बताए । 

विद्यार्थीको अनुपातमा शिक्षक संख्यालाई सुधार गरिने बताउँदै मन्त्री पोखरेलले समग्र शिक्षा प्रणालीमा सुधारका लागि नयाँ विधेयक ल्याउन लागेको जानकारी दिए । अर्का प्रश्नकर्ता सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद पुष्पा भुसालले संस्कृत विश्वविद्यालय सभाको बैठक बस्नमा भइरहेको ढिलाइबारे प्रश्न गरेकी थिइन् ।

जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालयसभा बैठकका लागि उपकुलपतिले सम्पर्क गर्नुपर्ने बताउँदै विश्वविद्यालयबाट सभाका लागिभन्दा पनि बजेटसँग सम्बन्धित कामका बारेमा मात्र पत्र प्राप्त भएको बताए । 



यस प्रश्नमा सांसदहरु रामकुमारी झाँक्री, मेखमणि चौधरी, लक्ष्मी परियारलगायतले सोधेको पुरक प्रश्नमा मन्त्री पोखरेलले विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैतभित्र गराउनका लागि सहमति गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उल्लेख गरे । 

बैठकमा सांसद भुसालले अर्को प्रश्न गर्दै माध्यमिक शिक्षातर्फ हाल कार्यरत एक हजार ५३ स्रोत व्यक्ति (आरपी)लाई सेवाबाट हटाइँदैछ भन्ने कुरा सत्य हो ? भनी प्रश्न गरेकी थिइन् । 



जवाफमा मन्त्री पोखरेलले उपरोक्त संख्याका स्रोत व्यक्तिमध्ये ७५ मात्र शुद्ध स्रोत व्यक्ति रहेको र बाँकी काजमा आएको जानकारी गराउँदै सरकारले हाल स्रोत व्यक्तिलाई संघीय सरकारअन्तर्गत नराख्ने निर्णय गरेको बताए । 

बैठकमा प्रश्नकर्ता सांसद खगराज अधिकारीका तर्फबाट सांसद दिलबहादुर महत क्षेत्रीले मन्त्री पुनलाई रुपाताल–बेगनाश तालको पानी उपयोग गरी जलाशययुक्त आयोजना सञ्चालन गर्ने सम्बन्धमा भएको प्रगति सम्बन्धमा प्रश्न गरेका थिए ।  

जवाफमा ऊर्जामन्त्री पुनले कास्कीका रुपाताल र बेगानाश तालका पानीबाट जलाशययुक्त जलविद्युत् आयोजना बनाउन कार्य अघि बढाएको बताउँदै यसले विद्युत्को उच्च मागमा राहत पुग्ने जानकारी दिए । 

उक्त आयोजनाका लागि सर्वेक्षण र अन्य अध्ययन भइरहेको जानकारी गराउँदै मन्त्री पुनले आर्थिक वर्ष २०७६÷७७ मा अध्ययन सम्पन्न गरेर लगानी जुटाउने गरी नेपाल विद्युत् प्राधिकरणलले काम गरिरहेको जानकारी दिए । उनले मुलुकमा हाल विद्युत्को माग र उत्पादनका सम्बन्धमा तथ्यांकसहित बैठकलाई जानकारी गराए । 

अर्का प्रश्नकर्ता सांसद रामबहादुर विष्टले ठेकेदार कम्पनीको लापरबाहीका कारण माथिल्लो कर्णाली जलविद्युत् आयोजना समयमै सम्पन्न हुन नसक्नेबारेको सत्यता प्रस्ट्याउन आग्रह गरेका थिए । 

जवाफमा मन्त्री पुनले आयोजनाका सम्बन्धमा भएका प्रगतिका बारेमा जानकारी गराउँदै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएको र ‘इआइए’ स्वीकृत भइसकेको बताए । उनले आयोजनाको लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणको तयारीका लागि वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धमा पनि निर्णय भएको जानकारी गराए । 

साथै, उनले निर्धारित समयै काम गर्न सरकारले निर्माण कम्पनीसँग पटक–पटक छलफल गरेको समेत बताए । सो आयोजनाबाट उत्पादित विद्युत् खपतका लागि बंगलादेशसँग सहमति भइसकेको मन्त्री पुनको भनाइ थियो । 

  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १७:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया