कैलालीको धनगढी उपमहागनरपालिका किसान अहिले बगर खेती व्यस्त छन् । हिउँदे सिजनअन्तर्गत उनीहरू विभिन्न प्रकारका तरकारी र फलफूल लगाउन बगरमा व्यस्त रहेका हुन् ।
धनगढी–१० की प्रमिला बखरियाको समय पनि अहिले बगरमै बितिरहेको छ । ‘बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ । यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौँ,’ उनले भनिन् । उनका अनुसार बारीमा काँक्रो, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।
हिउँदमा नदीको क्षेत्रफल साँघुरिने हुँदा बचेको बगरमा नै किसान तरकारी एवं विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन् । कम खर्चमा राम्रो उत्पादन हुने भएकाले सदुपयोग हुन नसकेको बगरलाई बारीमा परिणत गर्ने किसानको संख्या बढ्दै गएको छ ।
धनगढी उपमहागनरपालिका–१० जुगेडाका भग्गु राना पनि तीन वर्षदेखि बगर खेती गर्दै आइरहेका छन् । उनले पनि बारीमा काँक्रो, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानी, तरबुजालगायतका तरकारी उत्पादन गर्दै आएका छन् । ‘बगरमा हुने सबैखाले तरकारी लगाएका छौँ, कम खर्चमा राम्रो उत्पादन हुन्छ,’ उनले भने ।
कुनै समय धान तथा गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानहरूले सदुपयोग गरिरहेका हुन् । धनगढीकै जुगेडाकै माया रानाले पनि ७ वर्षदेखि बगर खेती गर्दै आएकी छन् ।
‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौँ वर्षौंदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छौँ,’ उनले भनिन्, ‘आम्दानी राम्रै भइरहेको छ ।’
नेपाल–भारत सीमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गरिदिन्छ । नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमिन कटान गर्दै जाँदा नम्बरी जमिन पनि नदी पारीसम्म पुग्छ ।
बगर बनेको जमिन बाह्रै महिना प्रयोग गर्न नपाए पनि किसानहरू यो समयमा भने बगरलाई तरकारी बारी लगाएर हरियाली बनाउँछन् । जसले उनीहरूलाई केही राहत दिन्छ । किसानहरु बगरखेतीबाट मासिक ३० देखि ५० हजार रुपैयाँसम्म कमाउने गरेको बताउँछन् ।
किसानले बगरमा फलाएको तरकारी धनगढीको हाट बजार लगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ । बजारको कुनै समस्या नरहेको किसानको भनाइ छ । बगरमा विगतमा आफ्नो जमिन भएका मात्रै नभइ अन्य किसानहरूले पनि भाडामा लिएर पनि तरकारी उत्पादन गरिरहेका छन् ।
जुगेडाकै अनारकली रानाले पनि जमिन भाडामा लिएर १० वर्षदेखि तरकारी फलाउँदै आएकी छन् । छोटो समयमै हुने उत्पादनमा राम्रो प्रतिफल प्राप्त हुने हुँदा पछिल्लो समय बगर खेतीमा किसानको आकर्षण बढ्दै गइरहेको छ ।
‘जग्गावालालाई केही रकम र उत्पादन भएको तरकारी दिन्छौं’, उनले भनिन्, ‘उनीहरूले पनि हामीलाई सहजै आफ्नो जमिन दिन्छन् ।’ बगरमा तरकारी लगाउन र हेर्नलाई समस्या हुने हुँदा सबैले यो खेती गर्दैनन् । तर, केहीले बगरमै साना टहरा बनाएर पनि यसमा काम गरिरहेका छन् ।
विगतमा सीमा क्षेत्रका नदी किनारका बगर खेतीमा विशेष गरेर भारतीय किसानले तरकारी खेती गर्दै आएका थिए । अहिले भने नेपाली किसान पनि बगर खेतीमा आकर्षित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।