एजेन्सी– जुन हिसाबमा पाकिस्तानी नागरिक आफ्नो देशलाई देख्छन्, यो जरुरी छैन कि विश्वका सबै देशले पाकिस्तानलाई त्यही नजरले हेरुन् । त्यस्तै, जसरी भारतीयहरु आफ्नो देशको बखान गर्छन्, यो आवश्यक छैन कि विश्वमा सबै देशले भारतलाई त्यसरी नै बुझुन् ।
जनताको भावना, मिडियाको काम, नेताहरुको बोली, कुनै सरकारले कुनै काम गर्दा वा कुनै कामको जवाफ दिँदा अनेकौ कुराहरु सोच्नु पर्ने हुन्छ ।
अब पुलवामाका घाइतेहरुलाई नै लिनुहोस् । योभन्दा पहिले पठानकोट वा उडीको घटना वा २००८ को मुम्बई आक्रमण वा १९९३ को मुम्बईमा दर्जन ठाउँमा भएका बम विस्फोटबाट फैलिएको बर्बादी नै । प्रमाण, तानबाना, रिसराग आआफ्नो ठाउँमा थिए, तर त्यसपछि के ?
युद्ध हुनु नै थियो भने त १३ डिसेम्बर २००१ मा हुनुपर्ने थियो जब लोकसभा भवनमा चरमपन्थी हमला भएको थियो ।
दुई दिनपछि नै रक्षा मन्त्रलायको तर्फबाट सेनालाई मार्चिङ अर्डर मिलेको थियो । सन् १९७१ बंगलादेश युद्धपछि पाकिस्तानको सीमामा भारतीय सेनाको यो सबैभन्दा ठूलो तैनाथी थियो ।
दुवै तर्फका सेना पन्जाबदेखि गुजरातसम्म एकअर्कालाई घुरेर हेर्थे । र, ८ हजार करोड खर्च गरेपछि सेना डेढ वर्षपछि आआफ्नो मोर्चामा फर्किए । त्यसपछि आगरामा मुशर्रफ र वाजपेयीको भेट पनि भयो । तर, अहिले पनि नतिजामा कुनै परिवर्तन आएको छैन ।
यसपटक पनि तत्काल रिस सामान्य हुने देखिँदैन । पुलवामाको मुद्दालाई सबै दलले आआफ्नो राजनीतिक अजेन्डा बनाएका छन्, प्रयोग गरेका छन् ।
दुवै देशले इस्लामाबाद वा दिल्लीबाट राजदूतलाई बोलाएका छन् । आर्थिक तथा सांस्कृतिक भ्रमण रोकेका छन्, एकअर्काविरुद्धको कारवाही अझ बढी गर्ने भएका छन् । तर, यो सबको फाइदा के ?
चीन होस् या रुस, अमेरिका वा साउदी अरब, युरोपेली युनियन वा अरु कोही, सबैजना सबै समस्याहरुलाई आआफ्नो हिसाबले हेर्न चाहन्छन् ।
अन्तर्राष्ट्रिय स्तरमा त साथी पनि मोलतोल गरेर हुन्छन् र दुश्मनी पनि गणितको हिसाबबाट हुने गरेको छ ।
त्यसैले अब प्रश्न उठ्छ, के भारतले अब पाकिस्तानमाथि आक्रमण गर्नु पर्छ ? मन भए पनि अहिलेको अवस्था त्यस्तो सजिलो छैन ।
तर, पुलवामामा जुन विस्फोटक पदार्थ प्रयोग भएको छ, के त्यो सीमापारिबाट आएको हो, त्यो गाडी के सीमापारिबाट आएको थियो ? के त्यो गाडी ठोक्काउने युवा सीमापारिको थियो वा स्थानीय ?
यो कहाँ उत्पादन भइरहेको छ ? यसलाई किन कुनै सरकार रोक्न सकेको छैन ?
यो कुरा सबैलाई थाहा छ, तर किन कसैले पनि यसको जवाफ दिएको छैन ? दुश्मनीमा सबैभन्दा पहिले शव त सत्यताको नै हुन्छ, कसैले मानोस् या नमानोस् !
(वुसअतुल्लाह खान पाकिस्तानी पत्रकार हुन् । उनको यो ब्लग बिबिसी हिन्दीबाट साभार गरिएको हो ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।