राष्ट्रपति भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्ने
फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । 

शुक्रबार अपराह्न ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । 

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् । 





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार ९:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया