जनगायक भनेर पनि चिनिन्छन् जीवन शर्मा ।
०००
२०१६ चैत २६ गते पिता चन्द्रदत्त उपाध्याय र आमा द्रौपदादेवीको कोखबाट सन्तानको ठूलो रहरमा जन्मेका थिए, जीवन । उनको जन्मस्थल हो, बाग्लुङ् जिल्लाको दक्षिणी भेग– राङ्खानी ।
जिन्दगीमा सुखको समथर फाँट भन्दा दुःखका पहाड धेरै भएको बताउने उनी विषम परिवारमा जन्मे । अरुको जस्तै उनको पनि बाल्यकाल सामान्य रुपमै बित्यो । कहिले गाई बाख्रा चराउन गोठालेको पनि गोठालो बनेर हाँठीगोठको गौचरन पुग्थे उनी । कहिले खेल्दै गाउँभरि डुल्थे ।
तर पाँच वर्षको उमेरमा स्कुल भर्ना भएपछि भने यो क्रम केही पातलो भएछ उनको ।
‘पढ्नमा ठिकै थिएँ । सरहरुले नि माया गर्थे’ आफ्ना ति दिन सम्झँदै जीवन बहकिन्छन्– ‘तर कक्षा तीनमा गएर फेल भएँ । त्यसपछि म चारवर्षजति फर्केरै स्कुल गइन । जान मनपनि भएन ।’
उमेरभन्दा जेठो र परिपक्व थिए, जीवन । त्यसैले त होला तीनमा फेल भएपछि अन्य फेल भएका साथीहरू मिलेर बम्बई जाने सोच बनाएछन् । मिति पनि तय भइसकेछ । उनको सबैभन्दा मिल्ने साथी डिल्लीले आएर जीवनलाई भनेछन्– ‘भोलि बिहान चारबजे नै उठेर भाग्नुपर्छ केटा । निस्कँदा कसैले पनि थाहा पाउनु हुँदैन । बाहिर डहरामा निस्केर बसेस् ।’
एकैवचनमा ‘हुन्छ’ भनिदिए उनले ।
‘साथीले जाम त भनेको हो’ जीवन बिर्सिएको कुरालाई सम्झन्छन्– ‘म त निदाएको निदाइ भएछु । जतिबेला ब्युझेँ, घाम माथि नै आइसकेको थियो । साथी पनि गइसकेका रहेछन् ।
पिता चन्द्रदत्त निकै विद्वान् थिए । संस्कृत र शास्त्रका कुरामा पारङ्गत थिए । कर्मकाण्ड गर्थे । पिताकै सङ्गतमा रहेर उनले फेल भएपछिको समयमा संस्कृत पढे । संस्कृतमा कौमुदी, अमरकोष लगायतका पुस्तकहरु पढे । अनि पितासँगै एकाह, सप्ताहमा पूजापाठ गर्न अघिपछि भएर हिँडे ।
उनले सम्झेअनुसार पहिलो दक्षिणा दस रूपैयाँ थियो । यो, त्यस्तै २०२५ सालतिरको कुरा हो ।
एकपटक घरमा पूजाको कार्यक्रम थियो । पूजामा ज्वाँइ भाञ्जा भाञ्जीलाई बोलाउने परम्परा हुन्छ । मौलाछका कलाधर भिनाजु पूजाकै शिलशिलामा आएका रहेछन् ।
जीवनबारे भिनाजुले ससुराबालाई सोध्दा ‘तीनमा फेल भएसि पढ्न छोड्यो। अैले भेँडाबाख्रा चरार बस्छ' भनेर भन्नुभएछ । तर भिनाजुलाई ससुराको यो कुरा कत्ति चित्त बुझेनछ ।
‘यस्तो जमानामा नि गाईबाख्रा चराउन पठाएर हुन्छ । यसलाई जसरी पनि पढाउनुपर्छ’ भन्दै भिनाजुले जीवनका पितालाई सम्झाइ बुझाइ गरेछन् ।
पूजा सकिएपछि गाई दानको समय थियो । त्यो गाई उनका भिनाजुलाई दिइयो । भिनाजुको साथ लागेर त्यो गाई पु¥याउने जिम्मा जीवनको काँधमा आयो । उनले हातमा हरियो झाँपो समाते । आफूँ अगाडि लागे । र, गाई डोर्याउँदै साला भिनाजु राङ्खानीबाट मौलाछ हानिए ।
भिनाजुको घर पुग्दा रातले एक कोल्टो फेरिसकेको थियो ।
‘भोलिपल्टै घर फर्किन्छु भनेको थिएँ’ भन्छन्– ‘भिनाजुले घर फर्कनै दिनुभएन । एकैचोटी त्यहीँको स्कुलमा लगेर भर्ना गरिदिनुभयो । त्यो पनि कक्षा सातमा ।’
जब एकैपटक कक्षा सातमा भर्ना भए, उनी आत्तिए । किनकि उनले एबिसिडी बिर्सिसकेका थिए । गणना गर्न पनि आउँदैनथ्यो । अलिअलि नेपाली बाहेक केही जान्दैन्थे । तर छ महिनाको अर्धवार्षिक परिक्षामा उनको नतिजा सोच्नसक्ने भन्दा धेरै राम्रो आयो । उनी प्रथम जो भएका थिए ।
‘यो सब पढेरै सम्भव भएको हो । म दिनरात पढ्थेँ नि !’ पढाईप्रति जीवनको अनुभव हो यो ।
बेलाबेला भिनाजु ससुराली जान्थे । फर्किँदा ससुरालाई सम्झाएर फर्किन्थे । ज्वाइँको सम्झाइबुझाइले ससुरा पनि सकारात्मक बन्दै गए ।
बिस्तारै छोराले पढोस् भन्ने भावना राख्न थाले । यसैको उपज जीवन सातको वार्षिक परिक्षामा पनि प्रथम भए । क्रमशः आठ र नौ कक्षामा समेत उनी प्रथमको प्रथम नै भइरहे ।
र, ६८ प्रतिशत ल्याएर जनता मावि सर्कुवाबाट एस्एल्सी परिक्षा उत्तीर्ण गरे ।
जब कक्षा आठमा पुगे, उनको सिकाइमा केही भिन्नता आउन थाल्यो । किताब बाहेक बाह्य कुराहरु पनि सिक्न थाले ।
शिक्षकले धेरैजसो राजनीतिक कुरा गर्थे । त्यहीँ उनले धेरथोर राजनीतिक कुरा पनि सिके । त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी मात्रै थियो । त्यसमै झुकाव राखे । उक्त पार्टी पछि गएर मसाल बन्यो ।
शिक्षकले अरुलाई भन्दा बढी महत्व जीवनलाई दिन्थे । यसकारण कि, उनी ‘फस्र्ट ब्वाय’ थिए । फस्र्ट ब्वायले भनेको कुरा कक्षामा नकार्ने आँट कसैको हुन्थेन ।
त्यही समयमा उनले भूमिगत रुपमा केही किताब पढ्न पाए । अनेरास्ववियूको विधान, प्रतिवेदन लुकीलुकी पढे । यस्तै स्टालिनको द्वन्दात्मक ऐतिहासिक भौतिकवाद पनि पढे । तर विज्ञानसँग सम्बन्धित कुराहरु मात्रै बुझे । बाँकी बुझ्न सकेनन् ।
एकपटक मध्यम विश्राम लिएर फेरि पढाइमा फर्केका उनको रहर एसएलसी गरेपछि फराकिलो भयो । उनले इन्जिनियरिङ्ग पढ्ने मनस्थिति बनाए । तर उनको मात्र एकलौटी निर्णयले के हुन सक्थ्यो र ? जीवनले यो निर्णय आफ्ना पितालाई सुनाउने भए ।
पिताले बिनाकुनै अवरोध उनलाई पढ्नमा लगानि गर्ने बताएपछि 'जीवन' जीवनकै सबैभन्दा धेरै खुसी भए ।
अहिलेको जस्तो त्यतिबेला यातायातको आवागमन बाक्लो थिएन । त्यसमा पनि कास्कीको नाउँडाँडासम्म मात्र फाट्टफुट्ट सवारी साधन चल्थे । उनी काठमाण्डौँ जान भनेर झिसमिसेमै घरबाट हिँडे । दिनभरको हिँडाइमा उनी पुगे पनि, कास्की नाउँडाँडा । त्यहाँबाट गाडी चढेर पोखरा झरे । र, पोखराबाट सोझै काठमाण्डौँ ।
‘ढाडमा दुई हजार रुपैयाँ बाँधेर आएको थिएँ’ जीवन नगन्य मुस्कुराए ।
यो अन्जान सहर, काठमाण्डौँमा त्यसै हाम फालेर आएका थिएनन् उनी । उनका माइलीबाका छोरा यतै बस्थे । चितवन जाँदा उनीहरुसँग सल्लाह भएको रहेछ । बेलाबेला चिट्ठी मार्फत पनि कुराकानी हुन्थ्यो । उनैले घरको ठेगानादेखि लिएर कहाँ झर्ने, कहाँबाट कहाँ जाने भन्ने इत्यादी कुरा सबै पहिले नै चिट्ठीमा खुलाइसकेका रहेछन् । त्यसकै भरोसामा जीवन काठमाण्डौँ आएका थिए ।
आफन्त भएकै कारण उनले काठमाण्डौँमा खासै सास्ती बेहोर्नु परेन । बाग्लुङबाट आएर सिधै माइलीबाका छोरा बस्ने कोठामा उनीहरुसँगै बस्न थाले । उनीहरुले नै जीवनलाई पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा भर्ना हुन सहयोग गरे ।
विषय रोजे, इलेक्ट्राेनिक इन्जिनियरिङ्ग ।
दुई वर्षको हुन्थ्यो, इलेक्ट्राेनिक इन्जिनियरिङ्गको कोर्स । जसमा आठ सेमेष्टर पढाइ हुन्थ्यो । तर पढाइको चिम्टाले जीवनलाई च्यापिरहन सकेन । डेढ वर्ष नपुग्दै पढाइलाई ‘किक’ हानेर पञ्चायती विरुद्धको जनआन्दोलमा लागे । यो, ०३६ सालको कुरा हो ।
‘उता स्कुलमा पनि त्यही सिकिएको थियो’ सिकाइको निरन्तरतालाई जोड्छन्– ‘यता आएर सङ्गत पनि त्यस्तै साथीहरुसँग भयो ।’
जीवन सहितको उक्त विद्यार्थी आन्दोलन महिनौँ दिनसम्म चल्यो । भोकभोकै र खाली खुट्टै आन्दोलनमा ऐक्यवद्धता सहित होमिए । त्यतिबेलै उनले साँस्कृतिक मोर्चा वेदना परिवार, जो आफैँमा साँस्कृतिक समूह पनि थियो, सँग सम्पर्क बढाए ।
आन्दोलनको लामो शृङ्खलापछि सम्झौता भयो । त्यो सम्झौता जनमत संग्रहका लागि भनेर भएको थियो । जनमत संग्रह चाहिँ पञ्चायती व्यवस्था राख्ने कि फाल्ने विषयमा थियो ।
‘वेदना परिवार सहित साथीसँग मिलेर बहुदलको पक्षमा रातदिन प्रचारमा लागियो’ एक्कासी उनको निधार खुम्चिन्छ । थकित स्वरमा सुनाउँछन्– ‘पञ्चायतले जित्यो । तर बहुदलले चाहिँ बल्ड्याङ् खायो ।’
यसरी आन्दोलन टुङ्गियो । र टुङ्गियो जीवनको पढाइ पनि ।
०००
जतिबेला जीवन बाग्लुङबाट राजधानी छिरे, उनीसँग ढाडमा दुई हजार रूपैयाँ मात्र थिएन । माइलीबाका छोरा बस्ने कोठाको ठेगानमा मात्रै पनि थिएन । उनीसँग साहित्यकार पारीजातको ठेगाना पनि थियो ।
काठमाण्डौँ आएर नै साहित्यकार पारीजातसँग म्हैपीस्थित उनकै घरमा पुगेर भेट गरे जीवनले ।
पढाइ छाडे ।
आन्दोलनले पनि निश्चित गति समातिसकेको थियो । त्यसपछि त 'जीवन'को जीवन एकदमै फुर्सदिलो भयो । दिन कसरी कटाउने भनेर नै उनको दिन जान्थ्यो ।
गाउँबाट खर्चपर्च सहित इन्जिनियरिङ्ग पढ्न काठमाण्डौँ आएको ठिटो । पढाइ नै नसकि आन्दोलनमा लाग्यो । जुन दिन आन्दोलनको एउटा चरण सकियो, उनलाई तनाव भयो । अब न पढाइ थियो, न आन्दोलन ।
यस्तैमा मुस्ताङ पढाउन जाने सुर कसे ।
उनी हिँडेरै पुगे मुस्ताङ । टुकुचे मावि, टुकुचेमा शिक्षक भएर जाँदा उनको तलब थियो, २७० रूपैयाँ ।
मुस्ताङमा बसेपनि काठमाण्डौँमा उनको सम्पर्क वेदना परिवारसँग भइनै रह्यो । उता उनले आफूँले पढाउने स्कुलमा नाच्न गाउन सिकाए । उनकै योगदान स्वरुप स्कुल सांस्कृतिक कार्यक्रममा प्रथम भयो । जसको श्रेय जीवनलाई नै दिइयो ।
त्यतिबेला उनले रायनको स्वर, शब्द र संगीतमा रहेको राष्ट्रिय गीत ‘झुकाई हिमाल झुक्दैन, ताकेर रगत खस्दैन’ गाउँथे । यही गाउन सिकाउँथे ।
‘मैले त्यहीँ रचना गरेर गाएको गीत चाहिँ ‘सबै सँधै बाँच्न सिकौँ, यो देशको मायामा’ हो’ यस गीतको रचनाकाल सम्झँदै भन्छन्– ‘जसलाई मैले २०३८ मा मुस्ताङमै जन्माएँ । र यो मेरो दोस्रो गीत थियो ।’
शिक्षकका रुपमा त्यहाँ उनले लगभग डेढ वर्षसम्म पढाए ।
खासमा भन्ने हो भने जीवनले कुनै पनि संगीतको औपचारिक शिक्षा लिएनन् । वेदना परिवारसँगै हिँडेको भरमा उनले मादल बजाउन जाने । हार्मोनियम र तबला बजाउन सक्ने भए । वेदना परिवारकै सङ्गतबाट उनले पहिलो गीत निकाले– ‘कति छन् त्यहाँ छटपटाइरहेका निशालाई देखेर ।’ तर त्यसको प्रभाव भने शून्य रह्यो ।
मुस्ताङको अध्यापन कर्म छोडेर उनी फेरि त्यही पेशामा फर्किए, सोलुखुम्बुको खुम्जुङ् माविबाट ।
जीवनका आँखामा ति दिन हिजो अस्तिको कुनै घटना जस्तो लाग्छ । होकि, होइन जस्तो । मुस्ताङ जस्तै सोलुखुम्बु पुग्न पनि हिँड्नैपर्ने हुन्थ्यो । दोलखाको जिरीसम्म त गाडी जान्थ्यो । तर त्यहाँबाट तिनदिन लगाएर भएपनि सोलुखम्बु पुगिछाडे ।
जीवनको नशामा गीत थियो । रगतमा सङ्गीत थियो । उनी जहाँजहाँ पुग्थे गीत गाउँदै पढाउने र पढाउँदै गीत गाउने काम गरिरहे । उनले पढाउने विषयमा गणित र विज्ञान थिए । ‘गीतले विद्यार्थीहरुलाई मनोरञ्जनका साथै अतिरिक्त उर्जा पनि थप्दो रहेछ’ मोबाइलमा हेरिरहेका उनी टाउको नहटाइ भन्छन्– ‘जीवन सरको क्लास भनेपछि सबै विद्यार्थी भुतुक्कै हुन्थे ।’
शिक्षण पेशाका रुपमा त त्यस्तै हो, तर सिर्जनशीलताका हिसाबले चिसो सोलुखुम्बु जीवनलाई निकै फाप्यो । त्यहाँको मौसमी चिसोलाई निमोठेर ‘खानीमा यो जिन्दगानीमा, हेरेर जूनतारा’ जस्ता धेरै ताता गीत रचना गरे ।
सोलुखुम्बु पढाइरहँदा जीवनलाई एकप्रकारको सन्तुष्टि थियो । सन्तुष्टि किन पनि थियो भने, उनको तलब राम्रै रहेछ । त्यतिबेला अर्थात् २०४१ को पेरिफेरिमा तलब बापत आठहजार रुपैयाँ थाप्थे । यो कुनै सरकारी निकायबाट मिलेको तलब थिएन उनलाई ।
हिलारीले खोलेको खुम्जुङ माविको गुठी ‘हिमालयन ट्रष्ट’ थियो । त्यसैबाट उनले आकर्षक तलब पाउँथे ।
अन्ततः सोलुखुम्बुमा पनि उनी स्थिर भएनन् । फेरि २०४२ सालमा काठमाण्डौँ नै फिरे ।
गाउँको हावा आएर उनलाई निमण्त्रणा दिएर गएजस्तो लागेछ। उनी हान्निदैँ बाग्लुङ पुगे । गाउँमा गएर छोटो समय स्कुल पढाएका के थिए, प्रहरीले हतकडी लगाएर सदरमुकाम बाग्लुङ पुर्यायो । सजाय स्वरुप कुटाइ पनि खाए । पछि तारेख बोकाइदिएछन् । तारेख बोक्न झिँजो लागेर त्यही दिनबाट उनी भूमिगत भए ।
र, सिधै काडमाण्डौँ नै आइपुगे ।
पढ्दापढ्दै आन्दोलनमा लागेका जीवनको, इन्जिनियर बन्ने सपना नदीको पानी झैँ बगेर धेरै टाढा पुगिसकेको थियो । तर उनलाई अझैपनि पढ्छु भन्ने इच्छाले लखेट्न भनेको छोडेको रैनछ । त्यसैले त होला, सोलु-काठमाण्डौं-बाग्लुङ हुँदै फेरि काठमाण्डौँ नै फर्किए ।
त्रिचन्द्र क्याम्पसमा फिलोसोफी, पोलिटिकल साइन्स र इङ्लिश लिएर पढ्न सुरु गरे । शिक्षक बनिसकेका जीवन पुनः विद्यार्थी भए ।
‘क्याम्पसको प्रशासनिक वातावरण धेरै राम्रो थियो’ क्याम्पस भर्ना भएरपनि पढ्न जान नपरेका ति स्वर्णीम दिनको स्मरण गर्छन्– ‘फर्म भ¥यो । अनि परिक्षा दिन गयो । फिस तिरेपछि सरले हाजिर त्यसै मिलाइदिन्थे ।’
अरु समय लुकीलुकी गीत गाउँदै हिँड्थे । गीत गाउने क्रममा मेची महाकाली पनि पुगिसकेका रहेछन्, जीवन ।
गाउँ जान उनीमाथि पूर्णरुपले प्रतिबन्ध लागेको थियो । बहाना, गीत गायो भन्ने थियो भने आरोप चाहिँ, पञ्चायती विरोधी, राजा विरोधी थियो । प्रहरीले सरकारी पूर्जी लगेर घरमा टाँसिदिएको थियो । यता प्रहरीले उनलाई खोजि पनि रहेको थियो ।
घर जान मन लाग्दा रातमा घर पुगेर रातमै फर्कन्थे ।
उनलाई प्रहरीले समात्न नसक्नुको कारणमध्य, उनको नाम पनि एउटा हो । साथीभाइ सबैसँग उनी जीवनका रुपमा परिचित थिए । तर सर्टिफिकेट आदिमा उनको नाम रामकृष्ण उपाध्याय थियो ।
त्यतिबेला अहिले जस्तो सूचना र प्रविधिको विकास पनि थिएन ।
प्रहरीको नजरमा जीवन आन्दोलनकारीको रुपमा चिनिन्थे । किनकि, उनी सँधै सामाजिक वेथिति, अव्यवस्था र पञ्चायत विरुद्ध बोल्ने वा गाउने गर्थे । गाए बापत पुरस्कार त मिल्थ्यो । तर पुरस्कारमा यस्तै जेल–नेल, हतकडी आदि पाउँदा रहेछन् ।
एकदिन क्याम्पस परिसरबाटै गीत गाउँदा गाउँदै उनलाई प्रहरीले पक्राउ गरेर सिधै हनुमानढोका लग्यो । तिनचार दिनपछि उसैले छोडिदियो ।
जीवनको भोगाइ अनुसार ०३६ देखि ०४६ को बीचमा धेरै आन्दोलन भए । उनले भोगे । देखे । कति सफल भए, कति भएनन् पनि ।
०००
सँधै आन्दोलनमा होमिने, जिन्दगीको एक्लै यात्रा गरिरहेका जीवनको, विवाह भयो । मागी विवाह । त्यो पनि बाग्लुङकै जैदीकी केटीसँग ।
‘गीत मात्रै गाउँदै हिँड्ने भएको भए सायद छोरी दिँदैनथे होलान्’ कुरा जोड्छन्– ‘घरको इज्जत पनि राम्रो छ र केटो शिक्षक हो भनेर नै दिएका हुन् ।'
दुर्भाग्य नै भन्नुपर्छ, विवाहको मिति फ्याट्टै सम्झँदैनन्, जीवन । सुरुमा ०४० सालमा मा भएको हो भनेका उनले पछि फेरि त्यस्तै ०४२÷०४३ तिर होकि जस्तो लाग्छ भने । तर वास्तविकतामा उनको विवाह ०३८ मा भएको रहेछ । उनलाई लाग्छ, जीवनमा विवाह भन्दापनि अरु घटना ‘मेजर’ भएर आए । यसैकारण विवाहको मिति खासै सम्झना हुँदैन ।
विवाहको तीनवर्ष पश्चात् एक छोराका बाबु बने उनी । र त्यहीसाल भूमिगत पनि भए ।
जीवनको व्यक्तिगत जीवन, अनुपस्थिति र अनुत्तरदायित्वबारे श्रीमतीले कहिल्यै केही गुनासो गरिनन् । गुनासो थियो वा थिएन भनेर बुझ्नका लागि पनि उनी घरमा हुनुपथ्र्यो । तर भूमिगत नै भएपछि कसरी गुनासो गर्ने श्रीमतीले ?
घरको एक्लो छोरा, एक्लै आन्दोलनमा सहभागि भए । बहुदलको समर्थन गरे । पञ्चायती व्यवस्थाको विरुद्धमा लागे । घरपरिवारबाट उनलाई खुलेर समर्थन भएन । खुलेरै विरोध पनि भएन ।
‘बाहिर समर्थन नगरेतापनि भित्रभित्रै समर्थन थियो’ जीवन परिवारप्रति कृतज्ञ बन्छन् ।
०००
खुलेर बोल्न पाएका दिन कम अविस्मरणीय छैनन्, जीवनका ।
‘मुलुकमा जब ०४६ को जनआन्दोलनले सफलता पायो, बहुदल आइहाल्यो’ उनलाई याद छ– ‘त्यसपछि त गाउँगाउँमा हाक्काहाक्की हिँडियो । धमाधम क्यासेट निस्कन थाले । आफ्नो लागि आफैँ बोल्न सक्ने वातावरण भयो ।’
बहुदल आउँदा ठूलै पर्व आएजस्तो लागेछ, उनलाई । त्यसकै खुसीले ०४७ मा उनले एउटा क्यासेट निकाले । उक्त क्यासेटमा उनको चर्चित गीत ‘सिमली छायाँमा’ लगायत १२ गीत समावेश थिए ।
‘एकपटक गीत गाउँदै जाँदा स्याङ्जामा एकजना भरियासँग जम्काभेट भयो । उनीसँग कुरा गर्दा थाहा भयो, श्रीमती बितिसकेकी रहिछिन् । छोराछोरी विदेशतिर लागेका थिए । भारी बोकेर जीवन निर्वाह गरिरहेका उनलाई देखेर गीत फु¥यो, सिमली छायाँमा’ गीतको रचनागर्भ सम्झन्छन्, जीवन ।
०४३ सालमा घण्टारघरको फेदमा बसेर रक्तिम सांस्कृतिक अभियानको स्थापना गरे । जसको उद्देश्य, साहित्य संगीत र कलाका विविध रुप मार्फत जनताको सेवा गर्ने थियो । राजा बुढाथोकी, ज्ञानेन्द्र थापा, कृष्ण अर्याल त्यस अभियानका सहयात्री थिए । त्यही संस्थाले गीति क्यासेट निकाल्थ्यो । उसकै लगानीमा ।
०५४ मा आएर त्यो संस्था दर्ता पनि भयो ।
०००
विवाहको झण्डै सोह्र सालपछि 'जीवन'को, जीवनमा एउटा ठूलो भूकम्प आयो । त्यो भूकम्पले जरा गाडिरहेको रुख उखेल्यो । हाँगा लछार पछार पारिदियो ।
सो भूकम्प ‘डिभोर्स’को थियो ।
पहिलो विवाह राजी भएरै गरेका उनले सम्बन्ध विच्छेद पनि राजी भएरै गरे ।
सुरुमा अंशबण्डा गरे । सम्बन्ध विच्छेको चरणमा आइसक्दा तीन छोराका बाबु बनेका थिए जीवन । पाँच भाग लगाएर श्रीमती र छोराको गरि ४ अंश श्रीमतीलाई दिए । आफूँले १ अंश राखे ।
र, ०५७ मा उनले दोस्रो विवाह गरे ।
दोस्रो बिबाह एकदम सामान्य रुपमा सम्पन्न भयो । न जन्ति लगे, न भोज ख्वाए । न त निम्ता नै गरे कसैलाई । जहाँ उनी बसोबास गर्थिन् त्यहीँबाट उठाएर ल्याए र आफ्नो डेरामा भित्र्याए । बस्, यत्ति गरे उनले ।
गुल्मीकी स्थायी बासिन्दा रहेकी उनी, कलाकार समूहकै एक सदस्य थिइन् ।
‘मन मिल्यो’ दोस्रो विवाहबाट सन्तुष्ट रहेका उनी हाँस्दै सुनाउँछन्– ‘मन मिलेपछि अरु त आफैँ मिलाउने होनि !’
जीवनको आधा उमेर काठमाण्डौँमा बिताएका जीवनले मुलुकमा धेरै परिवर्तन देखे, भोगे । युग बदलियो । ४० वर्षको काठमाण्डौँ अनुभवमा उनलाई अहिले यो शहर निर्जीव जस्तै लाग्छ । एकदम निर्जीव ।
समय समयमा आर्थिक अवस्थासँग पनि लडिरहेका हुन्छन्, जीवन । तर अहिलेसम्म हार्न जानेका छैनन् । अनामनगरमा डेरा गरेर बस्ने उनको मासिक खर्च तीस हजारसम्म पुग्छ । छोरी यसवर्ष एसइइको परिक्षा दिँदैछिन् ।
‘अहिलेसम्म ब्यालेन्स पनि छैन । ऋण पनि लागेको छैन’ उनी बिनाकुनै हिचकिचाहट भन्छन् ।
बिभिन्न देशबाट सांगीतिक कार्यक्रमका लागि भनेर जीवनको माग भइरहन्छ । उनी गीत गाउनकै लागि भनेर अहिलेसम्म पच्चीसभन्दा बढी देश पुगिसकेका छन् । त्यहाँबाट प्राप्त हुने पारिश्रमिकले जनतन उनको गुजारा चलिरहेकै छ । यसमा उनी खुसी नै छन् ।
जनवादी गायक भनेर चिनिने जीवन शर्माले सयौँ गीत गाए । सबै गीतमा उनी आँफैलाई अत्यधिक मनपर्ने गीत चाहिँ ‘पानीमा खेल्ने माछी’ रहेछ ।
‘माछा भनेको आन्दोलनकारी हो’ गीतका शब्दलाई जनआन्दोलनसँग जोड्दै उनी प्रष्ट्याउँछन्– ‘नदी भनेको दिशा हो । हामी आन्दोलनकारी पनि कुनैदिन लक्ष्यको दिशामा पुग्छौँ भन्ने लाग्यो र यो गीत लेखेँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।