आर्थिक विकास गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले देश र संविधानप्रतिको निष्ठा एवं नागरिकप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमानदारिता र सदाचारको भावना विकास हुने भन्दै देशको उच्चतम हित र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिई कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने दाबी गरिन् । उनले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले देशको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याउने बताइन् । 

राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकहरूमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने बताइन् । उनले संस्थागत रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुने बताइन् ।

राष्ट्रपति भण्डारीले कानुनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताइन् ।

उनले लोकतन्त्रमा राजनीतिक परिवेश बदलिने विषयलाई स्वाभाविक रुपमा लिँदै संविधान र कानुनले निर्दिष्ट गरेका दायित्वहरू पूरा गर्न आयोग सदैव अग्रसर रहनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले प्रशासनिक निकाय र नेतृत्वको जिम्मेवारी एवं जवाफदेहिता अभिवृद्धिका लागि विद्यमान ऐन, कानुनको पालनामा जोड दिनु आवश्यक रहेको उल्लेख गर्दै राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासनिक नेतृत्वको सङ्गठित एवं एकताबद्ध प्रयासले भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल गर्न सक्नुपर्ने बताइन् । 





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार १३:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया