डिपिएल : ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुङ्गो लाग्याे

धनगढी– जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । साेमबार भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । 

अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अङ्कसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क भए पनि रुपन्देही च्यालेञ्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सको समान चार अङ्क भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ । 

पहिलो स्थानमा रहेको काठमाडौँ र दोस्रो स्थानमा रहेको सिवाइसी अत्तरियाबीचको खेल हुन बाँकी रहेको छ । साेमबार भएको दोस्रो खेलमा सिवाइसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले हराउँदै प्लेअफमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठूलो स्कोर १४८ रन बनायो । 

अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जयकिसन कोल्सावालाले अर्धशतकीय इनिङस खेले । विस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए । ३१ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा दुई छक्का र तीन चौका प्रहार गरे । सन्नी डिपिएलमा अर्धशतक पूरा गर्ने पाँचौँ खेलाडीसमेत बने । 

यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डिपिएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए । विराटनगरका सुशन भारी र संसद शेखले समान एक–एक विकेट लिए । 

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बाँस्कोटाले २७ रन जोडे । 

यस्तै अभिनाश यादवले १४ असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान तीन–तीन विकेट लिए । साेमबारकाे पहिलो खेलमा जित हात पारेर रुपन्देही च्यालेञ्जर्स डिपिएल क्रिकेटको प्लेअफमा पुगेको छ । 

साबिकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्लेअफमा पुगेको हो । धनगढी भने जीतविहीन भएर तेस्रो संस्करणबाट बाहिरिएको छ । 

वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनायो । प्रतिकूल मौसमका कारण १५ ओभरमा खटाएर खेलाइएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । 

यस्तै विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान दुई–दुई विकेट लिए । 

रुपन्देहीले दिएको १०७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए ।

धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले तीन तथा विक्रम सोवले दुई विकेट लिए । जीतसँंगै रुपन्देहीले पाँच खेलबाट छ अङ्क जोडेको छ । रुपन्देही अङ्क तालिकाकोे दोस्रो स्थानमा उक्लिएको छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार ७:३९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया