दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न समूह ‘ए’ को खेलमा न्युजिल्याण्डलाई ९७ रनले हराउँदै अस्ट्रेलियाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
न्युजिल्याण्डले भने फराकिलो हारबाट विश्वकपको सुरुवात गर्यो । अस्ट्रेलियाले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १४ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो ।
उसका लागि अमेलिया केरले २१, बर्नाडाइन बेजुइडेनहाउटले १४ र जेस केरले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि एश्ले गार्डनरले तीन ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । त्यस्तै, मेगन सुटले दुई, डार्सी ब्राउन र एलिस पेरीले एक/एक विकेट हात पारे ।
त्यसअघि पार्लस्थित बोल्याण्ड पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७३ रन बनायो । उसका लागि ओपनर तथा विकेटकिपर हेलिसा हेलीले अर्धशतकीय पारी खेलिन् । ३८ बलको सामना गरेकी उनले ९ चौकाको मद्दतमा ५५ रन बनाइन् ।
त्यस्तै, कप्तान मेग ल्यानिङले ४१, एलिस पेरीले ४० र ग्रेस ह्यारिसले १४ रन जोडे । न्युजिल्याण्डका लागि ली ताहुहु र अमेलिया केरले तीन/तीन विकेट लिए ।
शनिबार नै भएको पहिलो खेलमा इंग्ल्याण्डले वेस्ट इण्डिजलाई ७ विकेटले हरायो । आज हुने पहिलो खेलमा भारत र पाकिस्तान तथा दोस्रो म्याचमा बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।