मधेस प्रदेश सरकारले सोमबार जनयुद्ध दिवस मनाउन लागेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेशी शहीद प्रतिष्ठानले जनयुद्ध दिवस मनाउन लागेको हो ।
प्रतिष्ठानले सोमबार मधेश भवनस्थित कवर्ड हलमा बिहान साढे १० बजे उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा जनयुद्ध दिवस मनाउन लागेको गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले जानकारी दिए ।
यसबिच, जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदासमेत दिएको छ । मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय राजपत्रमै प्रकाशित गरिसकेको हो ।
यसअघिका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा गृह तथा सञ्चारमन्त्री भएका भरतप्रसाद साहको प्रयासमा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।
गत वर्ष फागुन १ गते पनि मधेस सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो भने माओवादीको दशवर्षे जनयुद्धमा सहिद, बेपत्ता भएका परिवार र घाइतेलाई एक/एकलाख रुपैयाँ वितरण गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।