टर्कीमा भूकम्प गएको १९८ घण्टापछि सातजनाको जीवितै उद्धार

टर्कीमा गत सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परेकाहरूको उद्धारकार्य जारी छ । भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताले मंगलबार भूकम्प प्रभावित क्षेत्रको भग्नावशेषबाट कम्तिमा ७ जनाको जीवितै उद्धार गरेका रोयटर्सले जनाएको छ ।

भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जीवितै उद्धार गरिएको छ । 

यस्तै, युक्रेनी उद्धारकर्मीले दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जीवितै उद्धार गरी अस्पताल पठाएका छन् । सोही प्रान्तबाट उद्धारकर्मीले थप दुई महिलाको जीवितै उद्धार गरेका सीएनएनले जनाएको छ ।  

यस्तै, उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जीवितै उद्धार गरेका छन् । सोही प्रान्तबाट अर्की एक महिलाको पनि जिवितै उद्धार गरी अस्पताल पठाएको टर्किस मिडियाले जानकारी दिएका छन् ।

भूकम्पबाट अहिलेसम्म टर्की र छिमेकी मुलुक सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार टर्कीमा हालसम्म भूकम्पबाट ३५ हजार ४१८ जनाको मृत्यु भएको छ ।

सिरियामा उत्तरपश्चिमी सिरियाको सरकारी र विद्रोही नियन्त्रित क्षेत्रहरूमा मृत्यु हुनेको संख्या हाल ५ हजार ८०१ पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार ९:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया