अमेरिका–चीन व्यापार वार्ता आजबाट: ह्वाइट हाउस

वासिङ्टन– संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्ने गरी व्यापार वार्ता वासिङ्टनमा आजदेखि सुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ । 

बेइजिङमा यसअघि भएको वार्ता विनासहमति टुंएिको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता ‘अत्यन्त सकारात्मक’ रूपमा अघि बढेको बताउँदै आगामी १ मार्चको समयसीमा बढाउन आफू तयार रहेको जानकारी गराएका थिए । 

मंगलबारदेखि हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले गरेका छन् भने वार्तामा अर्थमन्त्री स्टिफेन मचिन, वाणिज्यमन्त्री विल्बर रोस, आर्थिक नीति सल्लाहकार ल्यारी कड्लो तथा व्यापार सल्लाहकार पिटर नाभारो सहभागी छन् । 

चीनको वाणिज्य मन्त्रालयले चिनियाँ पक्षको नेतृत्व उपप्रधानमन्त्री लिउ हेले गरेका छन् । 

गत शुक्रबार राष्ट्रपति ट्रम्पले वार्तामा सकारात्मक नतिजा आउने सम्भावना देखिए २ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा तत्कालै २५ प्रतिशत करवृद्धि नगरिने दोहो–याएका छन् ।

अमेरिकी प्रविधि चोरी भएको, चिनियाँ बजार पश्चिमा मुलुकका लागि पर्याप्त रूपमा खुला नभएको तथा चीनले अमेरिकी रोजगार खोस्न चिनियाँ कम्पनीलाई बढी छुट र अनुदान दिएको अमेरिकाले आरोप लगाउँदै आएको छ । 



विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धि र बजारमा ठूलै हलचल ल्याएको छ ।
 



  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १५:२९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया