काठमाडौं– कतिपय व्यक्तिसँग भावना हुन्छ, कथा हुन्छ, तर उनीहरूलाई लेखेर बस्ने फुर्सद हुँदैन । कतिपयसँग लेख्ने खुबी त हुन्छ, तर कुनै विषयवस्तु भेटिरहेका हुँदैनन् । अथवा आफ्ना सिर्जनामा भाषिक अशुद्धि भएर वा प्रस्तुति छरितो नभएका कारण कति चिन्तित छन् होला !
पाइलैपिच्छे खुलेका प्रकाशनगृहबाट हप्तैपिच्छे पुस्तक विमोचन पनि भइरहेका छन् । तर, सर्जकहरू सधैँ समस्यामा परेको गुनासो गरिरहन्छन् । कारण, पाण्डुलिपि दिएपछि प्रकाशनअघि हुने प्रक्रियाबारे उनीहरू अनभिज्ञ छन् ।
स्वाभाविक रूपमा पाठकले पनि कुन ठीक र कुन बेठीक भन्ने भेउ पाउन सकिरहेका हुँदैनन् । सर्जक/पाठकको भावना बुझेर यस्ता समस्या समाधान गर्ने बजारमा कुनै एजेन्सी भए कस्तो हुँदो हो ? कृति पाठकको हातमा पुगिसकेपछि देखिने त्रुटिका कारण नयाँ–पुराना लेखकको मस्तिष्कमा यो प्रश्न बारम्बार दोहोरिन्छ ।
तर, अब सर्जकहरूका तमाम समस्याको समाधान बनेर उभिएको छ, प्रबोधन कुञ्ज । र, यसैसँग जोडिन आइपुगेकी छिन्, संखुवासभाकी दीपा दाहाल ।
कृतिभित्रका कथा, निबन्ध आफ्नै लयमा बगेका पाइनन्, उनले । कविता, गजलसंग्रह पनि उस्तै अशुद्ध हुन्थे । एक–दुई कृतिमा मात्र होइन, प्रायःमा यस्तै भएको हुन्थ्यो ।
नेपाली विषयमा स्नातकोत्तर तह अध्ययन गरिरहेकी दीपालाई साहित्य सिर्जनामा त्यति चासो थिएन । साथीभाइले केही सिर्जना गरेका हुन्थे, आफैँ प्रकाशनगृहमा छपाउन पनि दिन्थे । कृतिको एक प्रति उनको हातमा पनि आइपुग्थ्यो ।
तर, हरेकपटक केही न केही तलमाथि भइरहेको हुन्थ्यो । उक्त कृतिभित्रका कथा, निबन्ध आफ्नै लयमा बगेका पाइनन्, उनले । कविता, गजलसंग्रह पनि उस्तै अशुद्ध हुन्थे । एक–दुई कृतिमा मात्र होइन, प्रायःमा यस्तै भएको हुन्थ्यो । त्यसमा पनि नयाँ सर्जक, जो रहरले साहित्य सिर्जनामा आउन चाहिरहेका छन्, उनीहरूको सिर्जनामा यस्ता समस्या हुन्थे ।
कामको सिलसिलामा दार्जिलिङ सिक्किम पुगेकी दीपाले त्यहाँ विभिन्न सहित्यकारहरूसँग भेट हुने अवसर पाइन् । उनीहरूका कृति पनि हात लाग्यो । तर, त्यहाँ पनि उस्तै समस्या भेटियो, भाषिक अशुद्धता ।
नेपालदेखि भारतसम्म सर्जकका साझा समस्या थियो, यो । तत्कालै उनको दिमागमा क्लिक भयो, जहाँ समस्या छ आखिर त्यहाँ समाधानको उपाय पनि छ । नेपाल फर्कंदाफर्कदैँ उनले सोचिन्, ‘अब आफैँले सम्पादनको काम किन नगर्ने ? आखिर नेपाली पढेकी छु, भाषामा दक्खल छँदै छ ।’
घुमफिर, रमाइलो र आनन्द महसुस गर्न सिक्किम पुगेकी दीपा तमाम छटपटी र व्यवसायको तृष्णा बोकेर नेपाल फर्किन् । अघिल्लो वर्ष मंसिरसम्म उनी सरकारी सेवामा कार्यरत थिइन्, तर अहिले उनको आफ्नै कम्पनी खडा भएको छ । कम्पनीको नाम दिएकी छिन् – प्रबोधन कुञ्ज । छँदा–खाँदाको सरकारी जागिर त्यागेर व्यवसाय र प्रतिस्पर्धामा उत्रिइन्, दीपा ।
किन ?
‘एकातिर यो व्यवसाय समस्याको समाधान थियो, अर्कातिर आय–आर्जनको पनि राम्रो स्रोत बन्न सक्थ्यो,’ कारण प्रस्ट्याइन्, उनले । व्यवसाय सुरु गर्नुपूर्व कहलिएका साहित्यकारसँग सल्लाह मागिन् । उत्साह र प्रेरणाको साटो निरुत्साह हात लाग्यो । तर, उनले हार मानिन् ।
व्यवसाय सुरु गर्दा अर्का एकजना सहयात्री पनि थिए, नाम लिन चाहँदिनन्, दीपा । दुवैको लगानीमा व्यवसाय सुरु भयो । तर, केही महिना नबित्दै दुईबीच फाटो आयो । त्यसपछिको यात्रामा दीपा एक्लै छिन् । एक वर्षमा नै व्यवसायले गतिलो सफलता हात पार्यो । ‘जो–जसले यो काम हुँदैन भन्नुभयो, उहाँले नै अहिले मिलेर गरौँ भन्नुभएको छ,’ हर्षित हुँदै दीपाले सुनाइन्, ‘उहाँहरूले यसो भन्नु नै कम्पनीको ठूलो सफलता हो ।’
एक वर्षअघि दीपाले यस्तो जोखिम नउठाएको भए अहिले न आठजना व्यक्तिले रोजगारी पाउँथे, न उनको मनले नै शान्ति पाउँथ्यो । ‘कतिपय प्रश्नको जवाफ हुँदैन भन्छन्, अहिले मलाई पनि यस्तै भएको छ,’ व्यवसायबारे सुनाउँछिन्, ‘कुनै साहित्यकारको सम्पर्क र सुझावविना यो क्षेत्रमा हात हालेर मैले जोखिम नै लिएकी हुँ ।’
प्रकाशन गृहले गरेको सम्पादन पूर्ण नहुने दीपाको तर्क छ । नयाँ लेखकलाई लेखन क्षेत्रमा कसरी दिगो रूपमा लाग्न सक्ने बनाउन सकिन्छ भन्ने उद्देश्य प्रबोधन कुञ्जले लिएको छ । त्यसो त कतिपय ठूला लेखक भनिनेहरूलाई नै सम्पादन भनेको के हो थाहा नभएको दीपाको अनुभव छ ।
‘यहाँ आएपछि नयाँ लेखकलाई हामीले निरन्तर पछ्याएर यो भएन, त्यो भएन वा यसलाई अझ यस्तो गर्न सकिन्छ भनेर सुझाब दिन्छौँ, लेखकका दृष्टिकोणबाट हेर्दै दीपाले भनिन्, ‘जसले गर्दा लेखकको पहिलो कृति बलियो बन्नुका साथै दोस्रोपटकका लागि लेखनसूत्र पनि मिल्छ ।’
योजना र सम्भाव्यता
डिल्लीबजार कालिकास्थानस्थित कार्यालयमा उनी निकै व्यस्त छिन् । एक वर्षभित्रै कम्पनीले दुईवटा किताब बजारमा ल्याइसकेको छ । बाँकी तीनवटा किताब पनि प्रकाशोन्मुख छन् । ‘सम्पादन, अनुवाद, घोस्ट राइटिङ र डिजाइन पनि हामीले नै गर्छौं, अहिले कामको निकै चाप छ,’ उनले भनिन्, ‘यहीँबाट थाहा पाएकी छु कि सम्पादनसम्बन्धी काम गर्ने संस्थाको कति आवश्यकता थियो ।’
दीपाको आगामी योजना त्यति ठूलो छैन । तर, फरक भने पक्कै छ । लेखनयात्रामा उनी शारीरिक अशक्त र अपांगता भएका व्यक्तिलाई समेट्न चाहन्छिन् । अपांगता भएका व्यक्तिहरूको पनि किताब प्रकाशनमा आएका छन् । उनीहरूले गरेका काम उदाहरणीय छन्, तर कामअनुसार शब्दमा व्याख्या नभएको उनको गुनासो छ ।
सहयोगी लेखन प्रचलन नेपालसम्म आइपुग्दा ‘घोस्ट राइटिङ व्यवसाय’ बनिसकेको छ । सभ्य भाषामा साझेदारी लेखन भनेर चिनिने यो व्यवसाय क्षमता हुनेहरूका लागि आम्दानीको स्रोत बनेको छ ।
‘अपांगता क्षेत्रलाई राज्यले पनि उचित व्यवस्था गर्न सकिरहेको छैन,’ योजना सुनाउँदै दीपा भन्छिन्, ‘आफूअनुकूल वातावरणमा बसेर काम गर्न सकिने हुँदा यसबाट अपांगता भएका व्यक्तिले पनि लाभ उठाउन सक्छन्, साथै आफ्ना भावना पनि बाहिर ल्याउन सजिलो हुन्छ ।’
पश्चिमा जगत्मा डेढ सय वर्षअघि नै सहयोगी राखेर लेखाउने एउटा संस्कृति थियो । सहयोगी लेखन प्रचलन नेपालसम्म आइपुग्दा ‘घोस्ट राइटिङ व्यवसाय’ बनिसकेको छ । सभ्य भाषामा साझेदारी लेखन भनेर चिनिने यो व्यवसाय क्षमता हुनेहरूका लागि आम्दानीको स्रोत बनेको छ भने विषयवस्तु भएका, तर त्यसलाई कृतिको रूप दिन मेलो नपाएकाहरूका लागि साधन । सही अर्थमा लेखनयात्राको सारथि बनेकाे छ, प्रबोधन कुञ्ज ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।