विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित, श्रीलंकालाई १० विकेटले हरायो

दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ । समूह ‘१’ मा तेस्रो जित निकाल्ने क्रममा गएराति अस्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हरायो ।

अस्ट्रेलियाले पहिलोमा न्युजिल्याण्डलाई ९७ रन तथा दोस्रो खेलमा बंगलादेशलाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा श्रीलंकाले दिएको १ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले १५.५ ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

उसका लागि ओपनिङ ब्याटरद्वय हेलिसा हेली र बेथ मूनीले अर्धशतीय पारी खेले । ५३ बलको सामना गरेकी मूनीले सात चौकाको सहयोगमा अविजित ५६ रन बनाइन् । 

त्यस्तै, हेलीले ४३ बलमा ६ चौका र एक छक्काको मद्दतमा अविजित ५४ रनको पारी खेलिन् । त्यसअघि दक्षिण अफ्रिकाको सेन्ट जर्ज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनायो ।

उसका लागि हर्षिता समरविक्रमले ३४, विष्मी गुणरत्नेले २४, कप्तान चमारी अथापथुले १६ र निलाक्षी डी सिल्भाले अविजित १५ रन बनाए । अस्ट्रेलियाका लागि मेगन शुटले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिइन् ।

त्यस्तै, ग्रेस ह्यारिसले दुई, जर्जिया वेयरहाम र एलिस पेरीले एक/एक विकेट हात पारे । अस्ट्रेलिया तीन खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको श्रीलंकाले तीन खेलबाट ४ अंक जोडेको छ ।   





  • प्रकाशित मिति : फागुन ५, २०७९ शुक्रबार ८:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया