logo-img

एकले अर्को राजनीतिक दललाई निषेध गरेर जान मिल्दैन : उपप्रधानमन्त्री लिङ्देन

उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

आज झापाको मेचीनगरको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको नवौं पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रममा उनले देशको स्थिति सामान्य आँखाले देखेजस्तो नरहेकाले राजनीतिक दलहरूले मिलेर यो समस्याको सामना गर्नुको विकल्प नभएको बताए ।

‘हामीलाई मिलेर काम गर्ने जनताले जनादेश दिएका छन् । एकले अर्को राजनीतिक दललाई निषेध गरेर जान मिल्दैन,’ उपप्रधानमन्त्री लिङ्देनले भने ।

उनले सरकारमा वैचारिक, सैद्धान्तिक हिसाबले भिन्न दलको प्रतिनिधित्व भए पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर काम गर्ने नौलो अभ्यास गरिरहेको बताए । 

उपप्रधानमन्त्री लिङ्देनले भने, ‘विकासलाई तीव्रता, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहलाई चुस्त र दुरुस्त बनाएर मुलुकलाई अप्ठ्यारोबाट सहज बनाउन प्रयत्नरत छौँ ।’ 

उनले नेपालका ठूला विद्युत् परियोजना नेपालीकै पैसा लगानी गरेर सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्दै गरेका कामबारे केही दिनभित्रैमा सार्वजनिक गर्ने बताए । उपप्रधानमन्त्री लिङ्देनले प्राधिकरणको सेयर अब नेपाली जनतालाई नै दिने र सकेसम्म विदेशी भूमिमा रहेका युवालाई समेटेर प्राधिकरणको मालिक बनाउने योजना अघि सारिएको बताए ।



‘आपत्कालीन अवस्थाबाहेक एलपी ग्यासमा होइन, विद्युतीय चुलोको प्रयोग गरेर खाना पकाउनुपर्छ । यसो गरेमा आधा खर्च घट्छ,’ उपप्रधानमन्त्री लिङ्देनले भने । उनले स्थानीय पालिकाले जनताले चलाएका उद्योगधन्दामा प्रोत्साहन गरेमा ट्रान्समिटर र तार जडानमा प्राधिकरणले सहयोग गर्नेसमेत जानकारी गराए । 



  • प्रकाशित मिति : फागुन ५, २०७९ शुक्रबार २०:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया