मेलम्चीको ठेकेदारलाई लिएर खानेपानी मन्त्रालयमा विवाद, मन्त्रीले गराइन् सचिवको सरुवा

काठमाडौं– खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । तर, यो सरुवा सामान्य नभएर खानेपानी मन्त्री बिना मगरको जोडबलमा गरिएको आरोप स्वयं ठाकुरले लगाएका छन् । 

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएमसीको विषयलाई लिएर मन्त्री र सचिवबीच विवाद निम्तिएको र सोमबार मन्त्रिपरिषद् निर्णयबाट ठाकुरको सरुवा गरिएको हो ।

आर्थिक संकटमा परेपछि बीचैमा काम छाडेर भागेको इटालियन कम्पनी सिएमसीलाई नै नेपाल फर्काउने तयारी मन्त्री बिना मगरले गरेको तर यो कानुनअनुसार नभएको भन्दै आफूले अडान लिएकाले नै आफ्नो सरुवा गरिएको सचिव ठाकुरको दाबी छ । ‘कानुन विपरित गर्दिनँ भने,’ ठाकुर भन्छन्, ‘त्यही कुरालाई इस्यु बनाएर मेरो सरुवा गरियो तर कुनै गुनासो छैन ।’

सिएमसीले दिएको सर्त हाम्रो कानुन अनुसार नहुँदा पनि मन्त्री बिनाले २ अर्ब ५९ करोड ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ दिन दबाब दिएको सचिव ठाकुरले आरोप लगाएका छन् । उनले सम्झौता तोडिसकेको कम्पनी सिएमसीलाई ल्याउनुभन्दा यहाँकै कम्पनीलाई काम दिँदा देशलाई फाइदा हुने अडान आफूले लिएको बताएका छन् । 

आफूसँग कानुनविपरित काम गर्न अडान दिइरहेकै बेला आफूले नमानेकाले नै आफ्नो सरुवा भएको र आफू जहाँ गए पनि काम गर्न तयार रहेको पनि बताए । 

त्यसो त खानेपानी मन्त्रालयमा मन्त्री बिना मगर र सचिवबीच मत बाझिएको यो पहिलो पटक होइन । यसअघि पनि सचिव कृष्णराज बिसीलाई मन्त्री बिना मगरले नै सरुवा गराएकी थिइन् ।



यसअघि समयमा काम नसकेको इटालियन कम्पनी सिएमसीसँग सरकारले ठेक्का तोडेको थियो । २४ माघमा ठेक्का तोडिए पनि सरकारले फेरि सिएमसीलाई नै ल्याएर मेलम्ची आयोजनालाई अगाडि बढाउन प्रयास गरिरहेको छ । यही विषयमा खानेपानी मन्त्रालयका सचिव र मन्त्रीबीच बारम्बार मत बाँझिँदै आएको छ । 




  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १७:१९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया