[अन्तरवार्ता] कहिलेकाहीँ छुट्टिँदै राम्रो हुन्छ

१६ महिनाअघि तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टी आफूहरुको सिद्धान्त, कार्यशैली, उद्देश्य र गन्तव्य समान भएको भन्दै एक भए । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पनि सँगै लडे ।

केही महिनाअघि उनीहरुबीच मतभेद उत्पन्न सुरु भयो र अन्ततः विवाद उत्कर्षमा पुगेर पुस २७ गते पार्टी फुट्यो । फुटेर अलग भएको उज्ज्वल थापा नेतृत्वको टोलीले ‘विवेकशील नेपाली ’ नाममा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दियो ।

अहिले पार्टी के गरिरहेको छ ? फेरि विवेकशील साझासँग एकता हुने हल्ला साँचो हो वा होइन ? यस्त–यस्तै विषयमा केन्द्रित भएर प्रस्तावित विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेसँग फरकधारकर्मी कमल विष्टले कुराकानी गरेका छन् । प्रस्तुत छ– मिलन पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः

विवेकशील साझाबाट छुट्टिएपछि २१ सदस्यीय टोलीसहित तपाईंहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जानुभएको थियो, दर्ता प्रक्रिया अहिले कहाँ पग्यो ?

निर्वाचन आयोगमा निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय गर्ने हो । हामीले निवेदन दिएको अबको केही दिनमा ४५ दिन पुग्छ, अनि हामीले नयाँ दलको स्वीकृति पाउँछौँ । अबको एक साताभित्र निर्णय हुन्छ ।

२१ जनाको नाम दर्ता गरिसकेका छौँ । पार्टीको विधान पनि बुझाइसकेका छौँ । कानुनी र सैद्धान्तिक रुपमा गर्नुपर्ने काम हामीले आफ्नो तर्फबाट गरिसकेका छौँ ।



पार्टीभित्रचाहिँ के भइरहेको छ ?

विवेकशील साझाबाट हामी पुस २७ गते अलग भयौँ । त्यसको एक सातापछि माघ ५ गते आफ्ना सदस्यहरुको राय–सल्लाह लिन ‘विवेकशील नेपाली भेला’ कार्यक्रम गरेर बृहत् छलफल गर्यौँ । 



सोही दिनबाट हामीले पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्म भ्याएसम्म देशव्यापी रुपमा आफ्ना सदस्यहरुसँग कुरा गर्यौँ । उनीहरुको गुनासो र सल्लाह लियौँ । पार्टीलाई अब कसरी अगाडि बढाउने भन्ने कुरामा पनि छलफल भयो । सँगसँगै, हामीप्रति धोका भयो, हाम्रो समय र शक्तिको फेरि दुरुपयोग भयो भन्ने गुनासा पनि धेरै नै थिए । 

अहिले हामी २१ जना केन्द्रीय सदस्य छौँ । पार्टी दर्ता भएपछि त्यो २१ मा अर्काे २१ जना थपेर आयोजक समिति बनाउने गृहकार्यमा लागिरहेका छौँ । आयोजक समिति बनेको १०० दिनभित्र त्यसले नीतिनिर्माण तथा महाधिवेशन गर्छ । त्यसरी बनेको आयोगले पार्टीको नीति–नियम, संरचना, पार्टीको रोडम्याप बनाँउछ । अहिलेको केही महिनाका लागि हाम्रो यो कार्ययोजना छ । 

यो बीचको समयमा हामी पार्टीको भौतिक संरचना र अन्य कामामा लाग्छौँ । केन्द्रीय कार्यालय कहाँ राख्ने भन्ने पनि तय भइसकेको छैन । यी काममा मुख्य प्राथमिकताका साथ लागिरहेका छौँ । 

यसबाहेक, विवेकशील साझासँग हाम्रो आर्थिक कारोबार, स्रोतसाधन, चिह्न र नाम क्लेम गर्ने कुरामा पनि छिनोफानो भइसकेको छैन । यी काममा हामी केन्द्रित हुनेछौँ । 
 

पार्टी फुटेको यति लामो समयसम्म पनि स्रोतसाधन बाँडफाँड भएको छैन भन्नुहुन्छ । के कारण अहिलेसम्म नभएको, कतै बाँडफाडँमा विवाद भइरहेको त छैन ?

छैन, कुनै विवाद छैन । खासमा अहिलेसम्म हामीबीच स्रोतसाधन बाँडफाँड गर्ने कुरामा छलफल नै भएको छैन । यो सहजै मिल्ने कुरा नभए पनि मलाई यसमा हामीबीच कुनै मतभेद हुन्छ भन्ने लाग्दैन । अहिले हामीहरु, दुवै पार्टीहरु, आ–आफ्नो काममा व्यस्त भएकाले यसबारे हामीले सोचेका थिएनौँ । अब भने हामी यो विषयमा राजनीतिक छलफल गरेर सहमति गर्छौं । 

तपाईंको पार्टीभित्रैका केही नेता अलग हुनु गलत भएको निष्कर्षमा पुगेको हल्ला सुन्नमा आएको छ, कुरा कतिको साँचो हो ? यसमा तपाईंको धारणा के छ ?

सत्य होइन । यो फगत हल्ला मात्रै हो । पार्टीलाई क्यान्सर लागिसकेको थियो । क्यान्सर लागेको थाहा पाउँदा दुःख त लागिहाल्छ, तर उपचार नगरे यो बिग्रन्छ भन्ने थाहा पाउँदा–पाउँदै पनि सतर्कता नअपनाउनु गल्ती हुने थियो । 

यही कुरा हामी छुट्टिनुमा लागू भएको हो । हामी पहिलो चरणमै उपचारमा गएर निको हुन चाहन्थ्यौँ र त्यस्तै गर्यौँ । 

हामीसँग छुट्नुको विकल्प थिएन । पछिल्लो समयको हाम्रो दिशा र कार्य एकदमै गलत बाटोतिर गइरहेको थियो । यस अर्थमा भन्नुपर्दा हाम्रो शैली र तरिका पनि जुन पार्टीहरुको विकल्पमा हामी उदाउने प्रयास गरिरहेका थियौँ, उनीहरु र हामीबीचमा कुनै भेद थिएन । आफूलाई वैकल्पिक भन्ने तर तरिका त्यही भएको भए के नै हुन्थ्यो र ?

फेरि छुट्टिँदैमा नराम्रै हुन्छ जस्तौ पनि मलाई लाग्दैन । टुक्रिँदा, अलग हँदा, छुट्टिनु पर्दा, सधैँ नराम्रो हुन्छ जस्तो मलाई लाग्दैन । कहिलेकाहीँ छुट्टिँदा सँगै हुनुभन्दा पनि राम्रो हुन सक्छ । यदि सँगै बसेर आफूले चाहेको कुरा प्राप्त गर्न सकिँदैन भने अगल भएर हासिल गर्नुपर्छ । छुट्टिँदा दुःख लागे पनि त्यो राम्रो कारणका लागि हुन्छ भन्ने मेरो मान्यता हो । तर, यो विज्ञानको नियम राजनीतिमा पनि लागू हुन्छ नै भन्ने छैन ।

विज्ञान भन्छ, शक्ति दुई किसिमले उत्पन्न हुन्छ । एउटा जोडिएर, अर्काे टुक्रिएर । हामीले चुनावताका जोडिएर जुन शक्ति प्राप्त गर्यौँ, अब हामी त्यही किसिमको शक्ति टुक्रिएर प्राप्त गर्छौं । 

फेरि, एउटा सत्य के पनि हो भने, हाम्रो कार्यशैली फरक भए पनि गन्तव्य एउटै हो । पुग्नुपर्ने ठाँउ एउटै हो । अहिले पनि विवेकशील साझा विवेकशील नेपालीको सबैभन्दा नजिकको दल हो । हामीबीच कुनै कुरामा मनमुटाब छैन । केही दिअघि विवेकशील साझाका एक नेतासँगको भेटमा उहाँले भन्नुभएको थियो, हामी फरक लेनमा हिँडिरहेका भए पनि हामी पुग्नुपर्ने गन्तव्य भने एउटै हो ।

गन्तव्य एउटै छ भन्नुहुन्छ, फेरि एकता हुन सक्छ भन्ने संकेत हो यो ?

तत्काल कुनै सम्भावना छैन । तर, भविष्यमा हुन पनि सक्छ र मलाई लाग्छ, हुनु पनि पर्छ । हाम्रो गराइमा, बुझाइमा, कार्यशैलीमा हामी फरक छौँ । कुनै दिन यी कुरामा हाम्रो धारण समान हुँदै गयो भने त सँगै हुन सकिन्छ । 

हामीले एकअर्कालाई शुभकामना र पत्र लेखे पनि फेरि मिलौँ भनेका छैनौँ । यस्तो तत्कालै हुने कुनै सम्भावना पनि छैन । मिडियातिर यस्ता कुराको धेरै चर्चा भएको सुनिए पनि औपचारिक रुपमा हामीबीच त्यस्तो कुनै कुरा भएको छैन । हामीले त्यति हतारमा गरेको निर्णय पनि होइन, जसले गर्दा केही समयअघि मात्रै फुटेको पार्टी आफ्नो निर्णय गलत छ भनेर फेरि मिलोस् । फेरि पनि भन्छु, राजनीति सम्भावनाको खेल हो, जुन कुराले हामीबीच दरार उत्पन्न गरेको थियो, भोलि ती कुरामा फेरि हामीबीच हाम्रो व्यवहार परिवर्तन भएर फेरि समान हुँदै गयो भने सँगै हुन सक्दैनौँ भन्न सकिँदैन । 

तपाईंलगायत केही नेता पार्टी सदस्यहरुसँग देशव्यापी अन्तरक्रिया गरेर फर्कनुभएको छ, कस्तो छ उहाँहरुको प्रतिक्रिया ? 

प्रतिक्रिया मिश्रित खालको छ । हामीले सम्भव भएसम्म धेरैभन्दा धेरै सदस्यलाई भेट्यौँ । भेट्ने, छलफल र सुझाब लिने क्रम जारी छ र रहने पनि छ । 

पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्म पुग्दा हामीले जहाँ, जति सदस्यसँग अन्तरक्रिया गर्दा मिश्रित प्रतिक्रिया पायौँ, यसरी प्राप्त गरेको प्रतिक्रियालाई दुई तबरमा हेर्न सकिन्छ । 

पहिलो, पार्टीको गतिविधि र कामलाई नजिकैबाट नियालिरहेकाले छुट्टिनु राम्रो भएको प्रतिक्रिया दिए । अर्काे, पार्टीको कामकारबाही र पार्टीले लिएको दिशालाई सतही रुपमा हेरिरहनुभएका र बुझिरहनुभएका साथीले भने छुट्नु नराम्रो भएको धारणा व्यक्त गरे । 

यसबाहेक, केहीले भने केही समय अलि पर्खिएर महाधिवेशनसम्म गएको भए हुने थियो भन्ने धारण राख्नुभएको थियो । 

समग्रमा भन्नुपर्दा प्रतिक्रिया सकारात्मक नै थिए र यात्राका दौरान प्राप्त गरेका गुनासा, तिक्तता, सहमति, असहमति, आक्रोश, रुष्टता, जे भए पनि सबैलाई सकारात्मक रुपमा लिएका छौँ । 

वास्तवमा फुट्नु र छुट्नुलाई नराम्रो तरिकाले नै लिइन्छ, जुन नेपालको परिप्रेक्षमा स्वाभाविक पनि हो । 

धेरै शुभेच्छुकमा यिनीहरु पनि अन्य पार्टीजस्तै रहेछन् भन्ने भएको छ । यसबारे हामी अहिले केही पनि भन्दैनौँ । उहाँहरुमाथि भएको उपेक्षा र धोकालाई आगामी दिनमा राम्रो काम गरेर माफी माग्नेछौँ । राम्रो काम गर्नुको विकल्प हामीसँग छैन । 

तपाईंजस्ता वैकल्पिक शक्तिलाई अझै स्पेस छ जस्तो लाग्छ ?

छ, अझै स्पेस छ । यहाँनेर स्पेसको अर्थ के हो र केलाई स्पेस भन्ने भन्ने कुराले धेरै ठूलो माने राख्छ । सांगठनिक रुपमा ठूलो भएर सत्तामा पुगेर सत्ता चलाउनुलाई तपाईं स्पेस भन्नुहुन्छ भने हामीहरु त्यो मानेमा अहिले कमजोर छौँ, तर संगठन सानै भएर पनि राम्रो काम गर्ने, सुसंस्कृत राजनीति र सभ्य परिपाटीको जग बसाउनुलाई तपाईं आजको आवश्यकता हो भनेर ठान्नुहुन्छ भने हामीलाई अझै स्पेस छ, त्यो पनि धेरै ठूलो स्पेस ।  

परिपाटीसँगै पार्टी बनाउनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो । सुरु गर्दाका दिनबाट आजको दिनसम्म पनि त्यही छ । हामीलाई कुर्सीको मोहले कहिल्यै तानेन । यदि हामी कुर्सी र पदमा लोभी हुन्थ्यौँ भने वैकल्पिक शक्तिमा पछि लाग्दैनथ्यौँ, किन भने हामीलाई यसरी लाग्नुभन्दा अघि नै थाहा थियो, यो बाटो धेरै नै गाह्रो छ । 

हामी सधैँ सुसंस्कृत राजनीति गर्न चाहन्थ्यौँ । नियत राम्रो छैन भने संगठन जति नै ठूलो भए पनि राम्रो हुँदैन । गलत बाटो प्रयोग गरेर सत्तामा पुगे पनि त्यसले राम्रो गर्न सक्दैन । 

ठुल्ठूला परिवर्तनहरु केही दिनमै पनि हुन सक्छन् । यसको ज्वलन्त उदाहरण हो, २०६२–६३ को आन्दोलन । सयौँ वर्षदेखि शासन गर्दै आएको राजतन्त्र हट्न १९ दिनको आन्दोलन काफी भयो । 

यस अर्थमा राजनीति भनेको सम्भावनाको खेल हो । जहिले जे पनि हुन सक्छ । सबैको मनमनमा फेरि फोहोरी राजनीतिप्रति वितृष्णा जागिसकेको छ । त्यो मनमा अटेसमटेस भएर बसिरहेको छ, कुन दिन त्यो छताछुल्ल पोखिन्छ, अनि थाहा हुन्छ । जब आउँछ, तब त्यसले नयाँ युग र देश लिएर आउँछ । 

अभियान थालिराख्दा अभियानकर्ताले सोचेभन्दा चाँडो पनि नतिजा आउन सक्छ । तर, आफ्नो मूल्यमान्यताबाट कहीँकतै डगमगाउनुभएन, कहीँकतै चुक्नु पनि भएन । हामी सधैँ त्यहीँ बाटोमा छौँ । ठूलो भएर भ्रष्ट हुनुभन्दा बरु सानै भएर समाज र समग्र देशलाई सही बाटोमा लग्ने । 

फेरि, के पनि सत्य हो भने, देशलाई सही बाटोमा रुपन्तरण गर्नु छ भने सधैँ सानो दल या संगठन भएर मात्र पनि हुँदैन । यसको अर्थ शक्ति प्राप्त गरेर सत्तामा पुग्नुपर्छ भन्ने हो । 

अन्ततोगत्वा हाम्रो उद्देश्य पनि सत्तामा पुगेर देश चलाउने नै हो । तर, सत्तामा पुग्नु मात्रै हाम्रो उद्देश्य होइन । हामी त्यहाँसम्म पुग्दा किन्चित पनि भ्रष्ट भएर पुग्दैनौँ । आजसम्म भएकै त्यही छ । यदि हामी पनि सांगठनिक रुपमा ठूलो तर इमान र आचारमा भ्रष्ट भएर त्यहाँ पुग्यौँ भने हामी त्यहाँ पुग्नुको कुनै अर्थ छैन र आफूलाई वैकल्पिक शक्ति भनिरहनुको पनि । 

अन्त्यमा, विवेकशील नेपाली एउटा अभियानका रुपमा सुरु भएर यहाँ आइपुग्दासम्मको यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? कत्तिको सफल भएको ठान्नुहुन्छ ?

हामी धेरै हद र मानेमा सफल भएका छौँ । वैकल्पिक राजनीतिले गएका पाँच वर्ष ठूलो परिवर्तन ल्याएको छ । विरोध गर्नेदेखि लिएर समर्थन गर्ने शैलीमा परिवर्तन आएको छ । आइतबार बेलुका माइतीघर मण्डलामा भएको दृष्टान्तलाई हेर्ने हो भने पनि हामी विरोध गर्ने शैलीमा आएको परिवर्तनलाई देख्न सक्छौँ । कुनै कुराको समर्थन गर्न पनि माइतीघरमा जम्मा हुन्छन् र विरोध गर्न पनि माइतीघरमै । नत्र केही वर्षअघि यसको विरोध वा समर्थन कसैले गर्थ्यो भने सडकमा टायर बालेर, बन्द हड्ताल गर्थ्यो होला । 

देशमा शिक्षा र स्वस्थ्यजस्ता अति नै आवश्यक मुद्दाहरु यसअघि कहिल्यै पनि राष्ट्रिय मुद्दा बनेका थिएनन् । आज गोविन्द केसीले शिक्षा र स्वास्थ्यका मुद्दालाई उठाए र विवेकशील नेपालीले सुरुवातदेखि नै साथ दियो । जुन मुद्दा कहिल्यै राष्ट्रिय मुद्दा बन्न सकेका थिएनन्, आज ती मुद्दा उठेका छन् । 

यी उपलब्धिहरुलाई हेर्ने हो भने यी सबै मुद्दाको उठान र यी मुद्दाहरुमाथि बहस हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ । 

सतही रुपमा र सामान्य तबरमा हेर्दा त्यस्तो ठूलो परिवर्तन अथवा सुसंस्कृत राजनीतिको जग निर्माण नभएको देखिनु स्वाभाविक नै हो ।

तर, यी स–साना कुरामा आएको परिवर्तनलाई हर्ने हो भने निकै सराहनीय र धेरै अर्थपूर्ण काम भएका छन् । स–साना कुरामा भएका परिवर्तनहरु वैकल्पिक शक्तिको उदय हुनुको उपज हो । 

  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १८:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया