नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुरानै झल्को आइरहेको टिप्पणी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पूर्वराजा शाह आफ्ना वरिपरि केही मान्छे देखेपछि जोशमा आएर हौसिरहेको पनि बताए ।
‘ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ । उहाँलाई अझै पनि पुरानै झल्को आइरहेको छ । त्यो झल्काले दुई/चारजना मान्छे अगाडि देख्यो भने जोश आउँछ । १५ वर्ष अगाडिसम्म २४० वर्षसम्म उहाँहरूले नै चलाएको होइन?,’ उनले प्रश्न गरे, ‘के बनाउनुभएको थियो? देशलाई कहाँ पुर्याउनुभएको थियो? १५ वर्षमा देशलाई मिलाउनुपर्ने होला । २५० वर्ष त खाएको छैन होला नि?’
ओलीले पूर्वराजासँग कुनै सहकार्य नहुने पनि स्पष्ट पारे छ । शनिबार साँझ पूर्वराजा शाहले प्रेस वक्तव्य जारी गर्दै देशको अधोगति आफूले हेरेर मौन बसिरहन नसक्ने बताएका थिए ।
वक्तव्यमा उनले राजनीतिक दल र राजसंस्थाबीच सहकार्यको खाँचो रहेको औंल्याएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।