तेस्रो इन्द्रदह पर्यटन उत्सवको तयारी

काठमाडौं– इन्द्रदह एकीकृत पर्यटन विकास समितिले आगामी फागुन ९ गते तेस्रो इन्द्रदह पर्यटन उत्सव गर्ने भएको छ । पर्यटन उत्सवका अवसरमा समितिले काजी कालु पाण्डेको पूर्ण कदको सालिक अनावरण गर्ने भएको छ । 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै उक्त उत्सवबारे जानकारी गराएको हो । समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीबाट तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटनसँगै काजी कालु पाँडेको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेन्द्र केसीले पहिले अर्धकदको सालिकको रहेको स्थानमा प्रधानमन्त्रीकै आग्रहमा पूर्ण कदको सालिक अनावरण गर्न लागिएको जानकारी दिए ।

यसअघिका दुईवटा महोत्सव तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले (२०५५) सालमा र २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाट्न गरेको पनि उनले जानकारी गराए । 

इन्द्रदह पर्यटन विकासको सम्भावना बोकेको स्थान भएको बताउँदै उनले अहिले दहचोक भनिने सो स्थानलाई धार्मिक तथा ऐतिहासिक स्थलको रूपमा विकास गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पर्यटन प्रहरी प्रमुख अमृत बस्नेतले उक्त महोत्सवमा आफूहरूले पर्यटकहरूको सुरक्षाको बलियो प्रबन्ध गर्ने विश्वास दिलाए । उनले भने, ‘यो स्थान आफँैमा एक इतिहास बोकेको स्थल हो, पर्यटनका निमित्त पुग्ने सबैको पर्यटन–सुरक्षाका लागि राज्यको त्यहाँ उपस्थिति रहन्छ ।’ 



आफूहरूले पर्यटकको सुरक्षामा कुनै पनि किसिमको आँच आउन नदिने पनि उनले विश्वास दिलाए । 

इन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले उक्त स्थानले धार्मिक तथा ऐतिहासिक महत्व बाकेको धारणा राखे । उनले भने, ‘१० वटा गढी रहेको यो स्थानमा कालु पाँडेको इच्छानुसार उनको शिर गोरखा देखिनेगरी समाधि गरिएको इतिहास छ ।’ 



काठमाडौंको नैकापडाँडादेखि इन्द्रदह हुँदै नागढुंगासम्मको क्षेत्रलाई नै एउटै प्याकेजमा राखी समग्र क्षेत्रकै पर्यटन विकास गर्नुपर्ने वक्ताहरूको धारणा थियो । 

पर्यटन विकासकै लागि उक्त स्थानमा ‘भ्यु–टावर’ को निर्माणको योजना पनि रहेको आयोजकले जनाएको छ । समितिले आगामी ५ वर्षभित्र इन्द्रदहमा आन्तरिक तथा बाह्य गरी ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । 

  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १८:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया