कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरू

लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । 

जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको उद्घाटन गर्दै कतिपय लोक संस्कृति लोप हुने अवस्था रहेकोले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताए । ‘हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ’, उनले भने, ‘लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव लिएर काम गर्नुपर्नेछ ।’ उनले  लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्न सके आयआर्जनको माध्यम बनाउन सकिने बताए ।

पाल्पाका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तु तथा स्थानको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ । यहाँका स्थानीय संस्था, स्थानीय सरकारले लोकवार्ता परिषद्को अभियानलाई पछ्याउन पनि उहाँले सुझाव दिनुभयो । सम्मेलनको दोस्रो सत्रमा विभिन्न शीर्षकका कार्यपत्र प्रस्तुत तथा छलफल र बहस भएका छन् । 

प्रा. डा. माधवप्रसाद पोखरेलले संयोजन गरेको कार्यपत्र प्रस्तुति सत्रमा प्रा. डा. सावित्री मल्ल कक्षपतिले नेवार समुदायले मनाउने गथामुःग, झपेन्द्र जिसीले कडुवा गीत नृत्य जीवन्त पाल्पाली संस्कृति एक झलक, कृष्णप्रसाद कोइरालाले रूरू क्षेत्र– एक प्रमुख धाार्मिक, पर्यटकीयस्थल, मन गैरेले तानसेनको ऐतिहासिक धरोहर अमरनारायण, रोहित ज्ञवालीले पाल्पाका ब्राह्मणको कुलायन पूजा परम्पराः यसको सांस्कृतिक तथा सामाजिक महत्वका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

यस्तै मदन देउरालीले पाल्पामा भएका मन्दिर र मनाइने जात्रा, प्रा डा भवेश्वर पङ्गेनीले पाल्पा र यसको गौरव (पाल्पाको ऐतिहासिक तथा सांस्कृतिक महत्व), विष्णु घर्ती ‘भनभनेली’ ले गुल्मेली घर्ती/भुजेलः ऐतिहासिक परिचय, सभ्यता र वर्तमान अवस्था र रुवि सत्याल बिडारीले सर्वहितकारी चूर्णको परिचय शीर्षकका कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनमा ६७ वटा कार्यपत्र प्रस्तुत हुने परिषद्का महासचिव प्रा. डा. ध्रुवप्रसाद भट्टराईले जानकारी दिए । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्कोवर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताव छाप्ने काम गरिएको छ । कला संस्कृतिसहितको संरक्षण गर्दै मूर्तअमूर्त कला संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र त्यसलाई पुस्ककका रुपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको लोकवार्ता परिषद नेपालका अध्यक्ष प्राध्यापक डा. प्रेमकुमार खत्रीले बताए ।





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १५:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया