प्रकाशकीय

आजदेखि फरक धारको यात्राले पहिलो वर्ष पूरा गरेको छ । दोस्रो वर्षमा प्रवेश गरिरहँदा हामीले कमाएको मूल्यवान सम्पत्ति हो– चुनौती ।

हामी चुनौती चिन्न, बुझ्न र चुनौतीसँग आँखा जुधाउन सक्ने भएका छौँ । आफ्नै यात्राको पाइला गन्दै हामीले आफ्नै लागि चुनौतीको निर्माण पनि गरेका छौँ । नेपाली समाजको परिवर्तनको इतिहास र संघर्षसँग हामी पनि सँगै छौँ, त्यसैले हामीले चिनेको र निर्माण गरेको चुनौती पनि नेपाली समाजले बोल्ने भाषा र भोगिरहेको आशा, निराशा र सकसकै लयमा बोल्छ ।

छोइने कागज होस् वा बोल्ने फ्रिक्वेन्सी, स्क्रिनमा उत्रने श्रव्यदृश्य होस् वा हातहातमा आइपुग्ने अनलाइन, नेपालमा मिडियाको बाढी नै छ । थरीथरीका बान्कीमा सूचना र समाचारको भल बगेर स्क्रोल गरिरहेको तपाईंको औँला वा आँखा अघिल्तिर आइरहन्छ । सरकार, बजार र अरु थरीथरीका सत्ताले निर्माण गर्ने रंगिविरंगी सूचना र विचारको बाढी पनि उर्लिरहेकै हुन्छ । यो बाढीको बीचमा समाज र आधारभूत जनताको जीवनमा चलिरहेको वास्तविक संघर्ष र परिवर्तनको कुरा कताकता गायब भैरहेको हामी महसुस गर्छौं । 

प्रधानमन्त्री, मन्त्री र शक्तिको खेलमा रहेका नेताहरुका भाषण, उर्दी, उद्घाटन र घम्साघम्सीले यो बाढीमा कति हिस्सा ओगट्ला ? बजार सत्ताको उत्पादन गर्ने अनेक भाष्य, खेलकुद, मेला, परियोजना, सौन्दर्य र खुसीका बजारशास्त्रीय टिप्सले कति प्रतिशत हिस्सा लेला ? अनि कति प्रतिशत सूचना र सञ्चारको उत्पादनमा राष्ट्र, समाज र जनताको जीवनका वास्तविक संघर्ष, उपलब्धि, प्रतिरोध र परिवर्तनका सूचना, विचार, खुसी, सन्तोष, पीडा आदिको हिस्सा होला ? कुनै विज्ञको बोली नसुनेरै पनि हामी यसको अनुमान सहज ज्ञानले लगाउन सक्छौँ । यही ज्ञानले फरक धारको यात्रा बनाउन प्रेरित गरेको छ ।

आम जनजीवनको मुटुनजिकै रहेर फरक धारको फरक यात्रा जारी रहनेछ भन्ने प्रतिबद्धता हामी तपाईं समस्त पाठकसमक्ष राख्न चाहन्छौँ । हामी पत्रकारिताको ट्रेन्डलाई पछ्याउने होइन, आफैँ ट्रेन्ड सेटर भएर अगाडि बढ्ने जमर्कोमा छौँ । यही उद्देश्यका साथ स्थापित भएको फरक धारको यो एक वर्षको यात्राले यसमा हामी सफल हुने र समाजमा तात्विक भिन्नता महसुस गराउने मिडियाको रुपमा हामी स्थापित हुनेमा विश्वस्त बनाएको छ । तर, यो हाम्रो एक्लो प्रयासले सम्भव छैन ।

एक वर्षको चुनौती चिन्ने र आफैँलाई चुनौती दिने यात्रामा हामीलाई साथ, सहयोग र भरोसा दिनुहुने पाठक, विज्ञापनदाता, शुभचिन्तक, लेखकलगायत सबैलाई धन्यवाद दिन चाहन्छौँ । फरक यात्रामा सामेल सम्पूर्ण फरक धार टिमलाई पनि यस अवसरमा धन्यवाद तथा बधाई दिन चाहन्छौँ ।





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १८:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया