नेपाली राजनीतिमा अहिले आसन्न राष्ट्रपति निर्वाचनको विषय चर्चामा छ । राष्ट्रपति उम्मेदवारको विषयमा सहमति जुटाउन दलहरूका शीर्ष नेताबीच निरन्तर छलफल भइरहेका छन् ।
नेकपा एमालेले पूर्वसहमति अनुसार आफ्नो दलबाट राष्ट्रपति उम्मेदवार हुनुपर्ने बताउँदै आएको छ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गरेको छ ।
आफ्नो दलको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउन माओवादी केन्द्रले सहयोग गर्नेमा कांग्रेस आशावादी छ । यद्यपि माओवादीले अहिलेसम्म कुन दलका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा सघाउने भन्नेबारे निर्णय गरिसकेको छैन ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति खोज्न प्रयासरत छन् । राष्ट्रपतिको विषयमा सहमति जुटाउन नेपाली नेताहरू प्रयासरत रहँदा भारतका बुद्धिजीवी एसडी मुनिले राष्ट्रपतिमा चार नाम सुझाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले राष्ट्रपतिका लागि योग्य भनेर गैरराजनीतिक चार जनाको नाम उल्लेख गरेका हुन् । ‘नेपालमा सहमतिमा नयाँ राष्ट्रपतिको माग जायज छ’, ट्विटरमा उनले लेखेका छन्, ‘देवेन्द्रराज पाण्डे, प्रा. बराल (सम्भवतः लोकराज बराल), दमन ढुंगाना र अनुराधा कोइराला जस्ता इमान्दार र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्ति योग्य छन् ।’
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।