‘ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ’

राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् ।    

ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन् ।   

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछुु,’ सन्देशमा भनिएको छ ।

नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।  

पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।   

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५०’को अवसरमा शेर्पा दिदीबहिनी, दाजुभाइलगायत सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 



ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नुका साथै नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् ।  

शुद्ध पानी चढाइ देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने तथा आपसमा शुभकामना आदानप्रदान गरेर मनाइने ग्याल्पो ल्होसारलाई आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा लिइने उनको भनाइ छ ।  



नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो भन्दै उपराष्ट्रपतिले हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र विभिन्न समुदायको भाषा, धर्म, संस्कार, संस्कृति तथा धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरवका रूपमा रहेका बताएका छन् । 

  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार ७:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया