आयरल्याण्डलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा

भारत दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा आयरल्याण्डलाई डकवर्थ लुइस पद्धतिमा ५ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा भारतले अस्ट्रेलियाको सामना गर्नेछ । 

सेन्ट जर्ज पार्कमा टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनायो । उसका लागि स्मृति मन्धानाले करियरकै उत्कृष्ट पारी खेलिन् । उनले ५६ बलमा ८७ रन बनाइन् । त्यसक्रममा मन्धानाले ९ चौका र ३ छक्का प्रहार गरिन् ।  

उनले पहिलो विकेटका लागि शफाली वर्मा (२४) सँग ६२ र दोस्रो विकेटका लागि हरमनप्रीत कौर (१३) सँग ५२ रनको साझेदारी गरिन् । जेमिमा रोड्रिग्जले १९ रन बनाउँदैै टोलीलाई १५० रनमा पुर्याइन् । आयरल्याण्डका लागि लौरा डेलानीले तीन तथा ओर्ला प्रेन्डरगास्टले दुई विकेट लिए ।  

जवाफमा आयरल्याण्डले ८.२ ओभरमा २ विकेट गुमाएर ५४ रन बनाउँदा पानी परेपछि खेल रोकियो । जसकारण डकवर्थ लुइस नियमका अनुसार भारतलाई ५ रनले विजयी बनाइयो ।     

मंगलबार महिला टी–२० विश्वकपमा समूह चरणको अन्तिम दिन इंग्ल्याण्डले पाकिस्तानसँग र आयोजक दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्दैछ । समूह ‘बी’ बाट भारत र इंग्ल्याण्ड तथा समूह ‘ए’ बाट अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् । अब सेमिफाइनल पुग्ने एक टोलीको टुंगो दक्षिण अफ्रिका र बंगलादेशबीचको खेलबाट लाग्नेछ । 





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार ७:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया