राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । २५ फागुन हुने राष्ट्रपति निर्वाचनका लागि  आयोगले मतदाता नामावली प्रकाशन गर्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज नामावली प्रकाशन गर्ने छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आजै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन तथा उजुरी दिन सकिनेछ । त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ। दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिने आयोगले जनाएको छ ।

उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । 

राष्ट्रपति निर्वाचन २५ फागुनको बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् ।

२०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ सालको जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।



राष्ट्रपति निर्वाचनको लागि संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता मत खसाल्न योग्य हुन्छन् । आयोगका अनुसार राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसदका कुल मतदाताको संख्या ३३२ रहेको छ । 



  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार ७:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया