जनकपुरधामको शिक्षास्तर कमजोर भएकोमा पूर्वराष्ट्रपति चिन्तित

पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले जनकपुरधामको शिक्षास्तर कमजोर भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । जनकपुरधाममा बिहीबारदेखि सुरु भएको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’को उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

डाक्टर यादवले जनकपुरधामको पर्यावर, शिक्षा र यहाँको स्वास्थ्यको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको बताएका छन् । उनले भने, ‘जनकपुरधामको सरस्वती माध्यमिक विद्यालय र यहाँको राराब क्याम्पसको पढाइ राष्ट्रिय स्तरमा प्रतिस्पर्धामा थियो । राष्ट्रिय स्तरमा काठमाडौंका धेरै कलेजभन्दा राम्रो रिजल्ट जनकपुरधामका विद्यालय र कलेजहरुको हुन्थ्यो । तर, अहिलेको अवस्था ठिक त्यसको विपरीत भएको छ ।’

‘गंगाधर दत्त, ठाकुर प्रसाद रेग्मीजस्ता अगुवा, रामस्वरुप साहजस्ता दानीहरु, यहाँका व्यापारी, मारवाडी समाज, नेपाली भाषी सबै मिलेर यहाँको विद्यालय, कलेज, अस्पताल निर्माणमा अगाडि बढौँ,’ उनले भने, ‘यहाँको संस्कृति र सभ्यता निर्माणमा सबैको महत्वपूर्ण योगदान थियो । तर, अहिले ती सबै बर्बाद भइसकेका छन् ।’

पूर्वराष्ट्रपति डाक्टर यादवले आफू चिकित्सकीय पेसामा भए पनि लोकतन्त्रको लागि आन्दोलन गरेको स्मरणसमेत गरे । उनले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रकै लागि समर्पित गरेको बताए ।
 
उनले भने, ‘लोकतन्त्र र गणतन्त्रको स्थापनामा आफ्नो सम्पूर्ण जीवन बिते पनि अहिले पनि डर लाग्छ । अमेरिकाको २४० वर्ष इतिहासमा कसैले पनि लोकतन्त्रको घाँटी निमोट्ने काम गरेका छैनन् । तर, नेपालमा लोकतन्त्रको घाँटी निमोट्ने काम गरियो । त्यसैले युवा पुस्तालाई लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ ।’

यादवले देशमा आएको लोकतन्त्र ८ दशकको उपलब्धि रहेकोले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताउँदै आफ्नो सन्ततिको भविष्य सुरक्षित गर्न आग्रहसमेत गरे । 

उनले जनकपुरधामको बाँकी रहेका धरोहरहरु यहाँका मठमन्दिर, पोखरी, सरोवरलाई बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताए । यादवले तेस्रो र चौथो पुस्ताले यसलाई संरक्षण गर्नुपर्ने बताए । 



यादवले पर्यावरण अभियन्ता दिलीप महतोको मृत्यु कुन कारणले भएको हो भन्ने कुरामाथि विचार पुर्याउँदै ‘दिलीप महतोके मोन पाडैत’ भन्ने शेसनमाथि गम्भीर ध्यानाकर्षण गराए । 

उनले प्रश्न गर्दै भने, ‘अहिले चुरेको अनियन्त्रित दोहन भइरहेको छ । चुरिया भएर राजमार्ग बनिरहेको छ । माटो दोहन भइरहेको छ । यसलाई कसले बचाउने ? यो देशमा भएका तिनै तहको सरकारको जिम्मेवारी होइन ?’



पूर्वराष्ट्रपति यादवले नेपालमा प्रत्येक वर्ष ३ खर्बको खाद्यान्न बाहिरबाट आयात हुनु दुःखद रहेकोले तराईलाई मरुभूमिकरण हुनबाट बचाउन गम्भीर बन्नुपर्ने बताए । उनले पर्यावरण संरक्षण गर्दै पानीको स्रोतलाई बचाएर राख्न नयाँ पुस्तासँग आग्रह गरे । 

आजदेखि साहित्य महोत्सव सुरु

जनकपुरधाममा आजदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’ सुरु भएको छ । महोत्सवको चौथो संस्करण १३ गतेसम्म चल्ने भएको हो ।

०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक नवमिथिला फाउण्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए । 

साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा तिन दिनसम्म देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने उपाध्यक्ष नेपालले जानकारी दिए ।

महोत्सवमा ‘समावेशिताः परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवाःसंस्कार र परिष्कार’, ‘सहिद दिलीप महतोके मोन पाडैत’, ‘सञ्जालको बवाल’, ‘राजनीतिःअभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहने भएको छ ।

महोत्सवको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिली ठाकुरले पनि सांगीतिक प्रस्तुति दिने भएकी छन् ।

  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १८:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया