राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्न लागेको बैठकमा सम्भावित तीन कार्यसूची रहेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
राप्रपा सरकारबाट बाहिरिएपछि सो पार्टीका नेताहरूले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । सोही जानकारी राष्ट्रिय सभालाई जानकारी गराउन लागिएको हो ।
त्यस्तै, आजको सम्भावित दोस्रो कार्यसूचीमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गरिने छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले प्रतिवेदन पेस गर्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने कार्यसूची पनि रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।