प्रधानमन्त्री प्रचण्ड १९ फागुनमा कतार जाने, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको दोहा जाने भएका छन् । उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज) को पाँचौं सम्मेलनमा सहभागी हुन यही १९ फागुनमा त्यसतर्फ जान लागेका हुन् । 

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन १९ फागुनमा त्यसतर्फ जाने र २२ फागुनमा स्वदेश फर्कने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघका केही कार्यक्रममा पनि सहभागी हुनेछन् । सो अवसरमा उनी साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने छन् ।

दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुने छन् । एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । 

२० फागुनमा एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् । सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६ औँ वक्ताका रूपमा राष्ट्रिय सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ । 





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार १३:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया