आइसिसी यू–१९ विश्वकप एसियाली क्षेत्रको छनोटमा नेपालले आज मलेसियाको सामना गर्दैछ । नेपाल र मलेसियाबीचको खेल यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा बिहान पौने ११ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल लगातार चौथो जितको खोजीमा छ ।
उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल मलेसियाविरुद्ध सहज जित निकाल्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङविरुद्ध सहज जित निकालिसकेको छ । नेपाल अहिले तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ६ अंक बटुलेको यूएई शीर्ष स्थानमा छ ।
मलेसियाले भने तीन म्याच खेल्दा एक खेलमा मात्र जित निकालेको छ । ६ राष्ट्र सम्मिलत छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ । नेपाल र यूएई प्रमुख दाबेदार हुन् । यूएईले आज कुवेतसँग खेल्दैछ ।
नेपालकाे यू–१९ टोली : देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।