यूएईमा जारी आइसिसी यू–१९ विश्वकप एसियाली क्षेत्रको छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको छ ।
यूएईस्थित मलेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनायो ।
उसका लागि मोहम्मद अक्रम अब्द मलेकले २६, मुहम्मद स्याहिर स्यामेल र मोहम्मद हरिल हरिसनले १२/१२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
मलेसियाको पारी ध्वस्त पार्ने क्रममा दिपेश कडेँलले १० ओभरमा ४ मेडनसहित ११ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै, आकाश चन्दले ४.३ ओभरमा ९ रख खर्चदै ३ विकेट हात पारे ।
मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन दिएर २ विकेट लिए । सुवास भण्डारीको नाममा एक विकेट रह्यो । जारी प्रतियोगितामा नेपाल लगातार चौथो जितको खोजीमा छ । उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल मलेसियाविरुद्ध सहज जित निकाल्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउन चाहन्छ ।
नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङविरुद्ध सहज जित निकालिसकेको छ । नेपाल अहिले तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ६ अंक बटुलेको यूएई शीर्ष स्थानमा छ ।
मलेसियाले भने तीन म्याच खेल्दा एक खेलमा मात्र जित निकालेको छ । ६ राष्ट्र सम्मिलत छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ । नेपाल र यूएई प्रमुख दाबेदार हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।