चितवन–२ उपनिर्वाचन : रास्वपादेखि नेमकिपाले गराए दल दर्ता

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दलले नाम दर्ता गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको अवधिमा १८ दलले नाम दर्ता गरेका जानकारी दिए ।

उनका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दल दर्ता गरेका हुन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी) मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएका आयोगले जनाएको छ ।   

आगामी २ वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही फागुन १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । गत ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर गत १३ माघमा उनको सांसद पद सर्वोच्च अदालतले खारेज गरेको थियो ।

रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको हो । १५ माघमा उनले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

६ महिनाभन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार आगामी २ वैशाखमा चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।   





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार ८:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया