गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति : शरतसिंह भण्डारी

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले आठ दलीय गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको बताएका छन् । 

शुक्रबार जनकपुरधाममा आठदलीय गठबन्धनको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता भण्डारीले फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा तत्काल राष्ट्रपतिमा मात्रै सहमति भएको बताएका हुन् । 

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनु पर्ने बताएपछि आठ दलीय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए । 

‘अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ, ’भण्डारीले भने, ‘अहिले राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला ।’ 

उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरु, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको उनले बताए । भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नका लागि समेत बनेको बताए । उनले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दावी गरे । 

सो गठबन्धनबाटै अहिलेको वर्तमान प्रधानमन्त्री बनेका छन्, तर जुन मनसायले उनलाई प्रधानमन्त्री बनाइयो त्यसले फेरी मुलुक प्रतिगमन तर्फ जाने शंका बढेकाले गठबन्धन टिक्न नसकेको उनको भनाइ थियो । शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको तर्क थियो । 



नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले गठबन्धनको उम्मेदवार पौडेललाई निर्वाचित गराउनका लागि नेपाली कांग्रेस आफैं ईमान्दार हुनु आवश्यक रहेको बताए । 
नेपाली कांग्रेससँग सबैभन्दा धेरै मत रहेकाले कांग्रेसी साथीहरुलाई ईमान्दार हुनु आवश्यक रहेको उनको जिकिर थियो । 

नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले अब मुलुकलाई संविधानप्रति वफादार, संसदको गरिमालाई बचाएर राख्ने राष्ट्रपति आवश्यक रहेको बताए । उनले आठदलीय गठबन्धनले त्यस्तै उम्मेदवारको छनोट गरेकाले निर्वाचित गराउन आग्रह गरे । 



कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई अधिकार सम्पन्न नबनाएसम्म मुलुक विकासको कल्पना गर्नु गलत रहेको बताए । मुख्यमन्त्री यादवले राष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्रीलाई भेटेर संघियता कार्यान्वयनका लागि प्रहरी समायोजन र निजमाती कर्मचारी समायोजन छिटोभन्दा छिटो गर्नका लागि आग्रह गर्ने जानकारी दिए । 

अभिमुखिकरण कार्यक्रममा आठदलीय गठबन्धनमा आवद्ध सबै दलका नेताहरुको उपस्थिती रहेको थियो ।

  • प्रकाशित मिति : फागुन १९, २०७९ शुक्रबार १९:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया