सुदूरपश्चिममा एमाले सरकार ढल्यो, कांग्रेसका मुख्यमन्त्री शाहले पाउलान् विश्वासको मत ?
फागुन २१ गते सुदूरपश्चिम प्रदेश सभाबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै
फाइल तस्बिर

यही फागुन २१ गते आह्वान भएको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा फागुन २१ गते अपराह्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको उल्लेख छ । 

विश्वासको मतका लागि मुख्यमन्त्री शाहले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीसँग भेटघाट एवं छलफललाई तीव्रता दिइरहेका छन् ।

केन्द्रमा बनेको दलको समीकरणसँगै मुख्यमन्त्री शाहले प्रदेशसभाबाट सजिलैसँग विश्वासको मत पाउने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । दलको नयाँ समीकरणअनुसार मुख्यमन्त्रीले प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार सदस्यसहित ४० सदस्यको विश्वासको मत पाउने देखिएको मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ ।

 संविधानको धारा १६८ (३) बमोजिम गएको माघ २६ गते कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार उनले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा अन्य दलमा नेकपा (एमाले) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक सदस्य रहेका छन् ।

गत मंसिरको चुनाव लगत्तै मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पदबाट राजीनामा दिएका थिए । 



एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त भएका थिए । 



  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार ८:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया