बंगलादेशमा २० हजार वेबसाइट बन्द

ढाका- बंगलादेशमा अश्लील सामग्री राखेको आरोपमा झन्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलताविरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मंगलबार बताएका छन् । 

मुस्लिम समुदायको बाहुल्य रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्री पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । ’मैले बंगलादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,’ बंगलादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने । 

अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नुपरेको बताउँदै उनले यसलाई निरन्तरता दिने जानकारी पनि दिए । बंगलादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरुपयोग भएको ठानेका छन् । 

दक्षिण एसियाली यो देशमा दुरुपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए । अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उनले जानकारी दिए । 

बंगलादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले यस्तो अभियान थालेका हुन् । बंगलादेशमा अश्लील वेबसाइट नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । देशमा अहिले झण्डै आधा जनता इन्टरनेटको पहुँचमा रहेको तथ्यांक छ । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १०:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया