माओवादीले भन्यो– प्रचण्डविरुद्धको रिट अभिव्यक्ति स्वतन्त्रताविपरीत

नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दर्ता गर्न भनी सर्वोच्च अदालतले दिएको आदेशप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै १० बर्से जनयुद्ध, जनआन्दोलन र वृहत् शान्ति सम्झौता तथा संविधानसभाबाट प्राप्त उपलब्धिविरुद्ध हुने कुनै पनि गतिविधिलाई अस्वीकार गर्ने जनाएका छन् । त्यस्ता कार्यको पार्टीले घोर भर्त्सना गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये १२ हजार राज्य पक्षबाट मारिएको दाबी गर्दै ५ हजारको जिम्मा आफूले लिने अभिव्यक्ति करिब १ वर्षअघि दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर उनीविरुद्ध रिट लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायत सर्वोच्च अदालत पुगेका हुन् । उक्त रिट सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

दरपीठविरुद्ध दिएको निवेदनमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।
सार्वजनिक कार्यक्रममा दिएको अमुक अभिव्यक्तिलाई लिएर रिट दायर हुनु अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको माओवादीको विज्ञप्तिमा जनाइएको छ ।

‘यस पार्टीका अध्यक्ष कं. पुष्पकमल दाहाल प्रचण्डले संविधानप्रदत्त वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रमहरूमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनुपर्छ भनि कलुषित पूर्वाग्राही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्तविपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको ठाडै प्रतिकूल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १३:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया