रूपन्देही- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानुन निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताएका छन् । कानुन निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्याेल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले संख्याका हिसाबले मात्र नभई गुणात्मक हिसाबले याे वर्ष उत्कृष्ट कानुन बनेको प्रस्ट पारे ।
मन्त्री ढकालले अहिलेसम्म २६ वटा कानुन निर्माण भएको र ४७ वटा कानुन प्रतिनिधिसभामा पेस भएको जानकारी गराए । उनले चिकित्साशास्त्र विधेयकबाहेक सबै विधेयक सहमतिमा पारित भएको बताए । ‘संविधानसँग बाझिएका कानुन आगामी फागुन २१ गतेभित्र निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ,’ उनले भने, ‘यही व्यवस्थाअनुसार संविधानसँग बाझिएका सबै कानुन निर्माण हुने गरी काम गरेका छौँ ।’
उनले संघीयताको बलियो कार्यान्वयनका लागि संघीय सरकारले आवश्यक ऐन-कानुनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मन्त्री ढकालले प्रदेश लोकसेवा आयोग, शान्ति सुरक्षा प्रहरीसम्बन्धी, भूउपयोग, उद्योगलगायत जनसरोकारसम्बन्धी विधेयक संसदमा पेस भएको जानकारी गराए ।
तहगत राज्य संरचनाको विषयमा समन्वयका लागि राष्ट्रिय सरोकार समितिले प्रदेश नम्बर ५ मा प्रदेश र स्थानीय तहसँग गरेको छलफल कार्यक्रममा समितिका सभापति दिलकुमारी रावतले सरकार र जनताका बीचमा समन्वयका लागि समिति बनाएको जानकारी गराए ।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले संघसँग नबाझिने गरी कानुन निर्माण गर्न जरुरी भएको बताए । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले तीनवटै तह अधिकारबारे स्पष्ट हुन आवश्यक रहेको बताउँदै संघीयतालाई व्यवस्थित गर्ने सवालमा प्रदेश नम्बर ५ उदाहरण बन्नुपर्ने धारणा राखे ।
प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले जनताका अधिकार बलियो भए मात्र गणतन्त्र बलियो हुने बताए । उनले भने, ‘गणतन्त्रलाई दिगो बनाउन तीनवटै तहका अधिकार स्पष्ट हुन जरुरी छ ।’
कार्यक्रममा संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघीयता कार्यान्वयन, तहगत अन्तरसम्बध, कानुन निर्माण, वित्त व्यवस्थापन, कर्मचारी प्रशासन चुनौती र अवसर विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।