एकोहोरोपन मेरो शक्तिः दीपक बज्राचार्य

नेवारी पारिवारिक वातावरणमा हुर्किएका दीपक बज्राचार्य सांगीतिक क्षेत्रमा प्रवेश गरेको लगभग २८ वर्ष पुगिसकेको छ । उनले आफ्नो सांगीतिक यात्रा ‘छोडी गयौ’ एल्बमबाट गरेका थिए । फर्केर आउने छैन, प्रिय तिमी आयौ, ओ अमिरा, नदुखेको मन, मायाको डोरीले, काली काली हिस्सी परेकी जस्ता चर्चित एल्बममा आफ्नो स्वर दिएका दिपकको हालसालै रिलिज भएको ‘मन मगन’ गीतले राम्रो बजार लिईरहेको छ । गायक, प्रस्तोता, संगीत संयोजकको भूमिका निर्वाह गर्दै आएका दिपकसँगको संवाद:

सांगीतिक क्षेत्रमा रमाउँदै आएका गायक दिपक बज्रार्चायलाई कस्तो गीत गाउँदा आत्मसन्तुष्टि मिल्छ ?

यो सब परिस्थिति अनुसार हुन्छ । यद्यपि शान्त ठाउँ, यात्राको क्रममा र कन्सर्टको बेला रमाईलो खालको गीत गाउँदा मनमा सन्तुष्टि मिल्छ ।

कल्पना गर्नुहोस् त ! गायक नबनेको भए के बन्नुहुन्थ्यो होला ?

म पहिलेदेखि नै गितार बजाउँथे । हाम्रो एउटा ब्याण्ड थियो । पछि गीत गाउने साथीले छोडेर गयो । अनि बाध्यतामा गीत गाउने मान्छे नभएर मैले गीत गाउन थालेको हुँ । यदि म गायक नबनेको भए गिटारिष्ट हुन्थें। तर सांगीतिक क्षेत्रमा नआएको भए के हुन्थेँ होला ? यो कल्पना नै गर्न नसकिने कुरा हो ।

जागिर पनि गर्नुभयो होला होइन ? पहिलो जागिर र तलब कति थियो भन्न मिल्छ ?



जागिर नै भनेर गरिएन । म पहिलादेखि नै सांगीतिक क्षेत्रमा लागेको हुँ । तलबको कुरा अलि रोचक नै छ । एउटा रेष्टुरेन्टमा गाएको पारिश्रमिक ३ हजार चानचुन लिनुपर्ने थियो । तर उक्त होटल बन्द भएको थाहा पाएँ । पछि मैले होटलबाट डाइनिङ टेबल उठाएर घर ल्याएँ ।

थुप्रै गीत त गाउनुभयो । तर आफैंलाई मनपर्ने गीत नि ?



स्रोता/दर्शकले जुन मन पराउनु भयो त्यो नै मेरो रोजाई हो । केही भएर नै त गीत मन पराउनु भयो होला नि !  नामै लिएर भन्नुपर्दा मायाको डोरीले र ओ अमिरा भन्छु । यो गीत अहिले पनि दर्शक/स्रोताले मन पराउनु हुन्छ । म कार्यक्रममा जाँदा पनि यिनै गीत गाउँदै आएको छु ।

गुनगुनाइरहन मन लाग्ने गीत ?

अँध्यारोमा छाउँछौ तिमी भन्ने गीत गुनगुनाइरहन्छु ।

जीवनको कुनै यस्तो दिन जुन फेरि जिउनु चाहानुहुन्छ ?

(हांस्दै) सायद मिल्थ्यो भने म आफ्नो श्रीमतीलाई पहिलोपटक भेटेको दिन फेरि जिउन चाहान्थेँ । त्यो दिन केके भयो राम्रो सँग याद त छैन । तर, त्यो दिनले गर्दा उनी मेरो जीवनमा छिन् । त्यो दिन म राम्रोसँग फिल गर्न चाहान्छु ।

एउटा गोप्य कुुरा जुन दर्शकलाई थाहा छैन ?

हामी कलालारको जीवनमा लुकाउने कुरा नै खासै केही हुँदैन । सबै पब्लिक नै हुन्छ ।

आफूभित्र रहेको के कुरालाई आफ्नो शक्ति मान्नु हुन्छ ?

मेरो एकोहोरोपन । म जे सोच्छु त्यो गरेरै देखाउन खोज्छु ।

अन्तमा, लोकतन्त्र आएपछि नेपाली म्युजिक इन्ड्रस्टिमा कस्ता परिवर्तन आए जस्तो लाग्छ तपाईंलाई ?

राजनीतिले म्युजिक इन्ड्रस्टिमा खासै केही फरक पार्दैन जस्तो मलाई लाग्छ । हामी प्रेमका गीत–संगीत गर्ने हुँदा खासै फरक पनि परेन । त्यो समयमा धेरै कलाकार पलायन भए । तर, त्यसलाई सकारात्मक रुपमा हेर्ने हो भने आज विभिन्न देशमा नेपाली कलाकार छरिएर रहेका छन् ।

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १४:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया