कार्यदलले बुझाएको प्रतिवेदन अपूरो
कार्यदलले अपूर्ण प्रतिवेदन बुझाएपछि झन् सकसपूर्ण हुँदै नेकपा एकता

काठमाडौं– सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ सचिवालय बैठकमा सांगठनिक एकता कार्यदलले पार्टी एकताको विवादित विषयलाई थाती राखेर प्रतिवेदन बुझाएको छ । सांगठनिक एकताका सन्दर्भमा कार्यदलले लामो छलफल गरे पनि केही विषयमा भने सहमति हुन नसकेको स्रोतले बताएको छ । 

पुस मसान्तभित्र एकता कार्यदललाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले पार्टी एकताको बाँकी कामको टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजकसहित विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल थिए । 

समयमा नै कार्यदललाई प्रतिवेदन बुझाउन सचिवालयले पटक–पटक निर्देशन दिए पनि कार्यदलले निर्धारित समयमा प्रतिवेदन बुझाउन सकेन । गत, सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा कार्यदलले ‘अपूर्ण’ प्रतिवेदन बुझायो । सचिवालयको चर्को दबाब थेग्न नसकेपछि भएका सहमतिलाई प्रतिवेदनको रूपमा रूपान्तरण गरी ‘अपूर्ण’ प्रतिवेदन बुझाइएको हो । 

ढिलै भए पनि कार्यदलले बुझाएको प्रतिवेदनलाई सकारात्मक नै मान्नुपर्छ । कार्यदलले प्रतिवेदन ढिलो बुझाउँदा पार्टीको बाँकी काम नै प्रभावित बनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउँदै आएका छन् । 

संयोजकलाई सकस 

पटक–पटक सचिवालयको दबाब परेपछि कार्यदलले काम सक्न हतार गर्यो । सांगठनिक एकताको टुंगो लगाउन गठित कार्यदलमा नै विवाद देखियो । एकले गरेका काम अर्कोलाई चित्त नबुझेपछि विवाद सल्टाउन कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’लाई निकै गाह्रो पर्यो । 



किन भयो ढिलो ? 

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा तीन महिनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएको थियो । यसबीचमा नेताहरूको व्यस्तता, शीर्ष नेताको छलफल हुँदै पार्टी सचिवालय, स्थायी कमिटी वा कार्यदललाई जिम्मेवारीका नाममा तल्ला कमिटीको एकता लम्बिएको थियो । कार्यदलका सदस्यहरू कोही काठमाडौँ उपत्यकाभित्र रहे भने कोही बाहिर । 



प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल पनि कार्यदलमा भएपछि कार्यदलका सबै सदस्यहरू बैठकमा आउन असम्भव नै रह्यो । यो एउटा कारक रह्यो भने अर्को कारको रूपमा सदस्यहरू काम छाडेर उद्घाटन र नेपालबाहिर समेत गए । त्यसकारण कार्यदलको बैठक जुन स्पिडमा बसेर विवादित विषयमा छलफल गरी टुुंगोमा पुग्नुपर्ने थियो, त्यो देखिएन । त्यस कारण पनि ढिला हुन गयो । कुन–कुन विषय सहमति भएको हो, कुन–कुनमा हुन बाँकी छ र कहिलेसम्म टुंगोेमा पुगिन्छ भन्नेमा कार्यदलका सदस्यहरू नै अन्योलमा थिए । 

ढिलाइको असर 

एकता चाँडो पूरा नहुँदा सरकार र पार्टीबीच एकरूपता कायम हुन नसकी नेता–कार्यकर्ताहरू जिम्मेवारीविहीन बनेका छन् । विद्यार्थी संगठनदेखि किसान, महिलालगायतका संगनहरूमा काम प्रभावित बनेको छ । कुन भूमिकामा रहेर पार्टीको काम गर्ने भन्नेमा नै नेता–कार्यकर्ता अन्योलमा छन् । 

पार्टीका नेता तथा कार्यकर्ताले गर्ने सार्वजनिक काममा पनि उनीहरूले पूर्वएमाले, पूर्वमाओवादी केन्द्रकै नेताका हैसियतले परिचय दिएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रकै विद्यार्थी नेताका हैसियतले सार्वजनिक कार्यक्रम परिचय दिइँदै आएको जानकारी दिए । 

के थियो कार्यदलको काम ? 

कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला कमिटी र जनसंगठनको एकताबारे प्रतिवेदन दिनुपर्ने जिम्मेवारी पाएको थियो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय संगठनको एकता हुन सकेको छैन । यही संगठनको टुंगो लगाउने जिम्मा कार्यदलले पाएको थियो । 

कहिले–कहिले बस्यो बैठक ? 

कार्यदलका सदस्यहरू आन्तरिक काममा व्यस्त भएपछि पटक–पटक बस्ने भनेर तोकिएको मितिमा बैठक बस्न सकेन । लामो समयपछि २१ माघ सोमबार सचिवालय बैठक बस्यो । सो वैठकमा कार्यलदको कार्य प्रगतिका बारेमा छलफल भयो । बैठकले प्रतिवेदन जे–जस्तो अवस्थामा छ सोही बुझाउन २२ माघ मंगलबारको समय दियो । तर, मंगलबार बैठक नै बस्न सकेन । सो दिन त्यत्तिकै टर्यो । 

अध्यक्षद्वय ओली र दाहालको दबाब कार्यदलमाथि पर्यो । कार्यदलको कामप्रति अध्यक्षद्वय असन्तुष्ट देखिए । कार्यदललाई अध्यक्षद्वयको दबाबपछि बैठक २२ माघ बुधबार दिउँसो ३ बजेका लागि तय भयो । तर, बैठक बस्न सकेन । फेरि बिहीबार बैठक बस्यो । 

बिहीबार बसेको बैठकमा कार्यदलका संयोजकसमेत रहेका रामबहादुर थापा ‘बादल’ले अचानक प्रतिवेदन पेस गरे । बादलको प्रतिवेदनमाथि कार्यदलका बहुमत सदस्यले असन्तुष्टि जनाए । बादल र पार्टी महासचिव विष्णु पौडेल जेजति सहमति जुटेको छ, त्यसको प्रतिवेदन बुझाएर कार्यदललाई भंग गर्ने दाउमा थिए । तर असफल भए । 

त्यसपछि संयोजक बादलले शुक्रबारका लागि बैठक बोलाए । शुक्रबार बसेको बैठकमा संयोजक बादलले पेस गरेको प्रगति प्रतिवेदन पारित भएको कार्यदलका एक सदस्यले फरकधारलाई बताएका थिए । तर, उनले भनेजस्तो यथार्थ त्यो थिएन । फेरि विवाद भयो । फेरि बादलको प्रतिवेदनमाथि घनीभूत छलफल भयो । 

प्रतिवदनमाथि छलफल गर्दै त्यसलाई टुंगोमा पुर्याउने काम भयो । कार्यदलले टुंगो लगाउन नसकेको काम सचिवालयलाई जिम्मा दिने निर्णय गर्यो । त्यसपछि बीचमा बैठक नै बस्न सकेन । एकैपटक फागुन ५ गते बैठक बस्यो । फागुन ५ गते बसेको बैठकमा ‘अपूर्ण’ प्रतिवेदन बुझाए । 

फागुन ९ गते बिहान ९ बने अर्थात् भोलि बिहान बस्ने बैठकमा कार्यदलका सम्पूर्ण सदस्यसहित सचिवालयको संयुक्त बैठक बस्ने र सांगठनिक एकताको विषयलाई कसरी टुंगो लगाउने भन्नेबारेमा आवश्यक नीति र निर्णय गरिने जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

भोलि बस्ने संयुक्त बैठकबाट एकतासम्बन्धी विषयलाई टुंगो लगाउने र देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने मनस्थितिमा सचिवालय पुगेको बताइएको छ ।
 

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १४:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया