नागरिकता विधेयकतर्फ संकेत गर्दै राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले भनिन्– महिला नै निर्णायक भूमिकामा हुँदा पनि महिलाले न्याय पाएनन्

बुधबार विश्वभर ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ । 

सोही सन्दर्भ पारेर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले संविधानमा व्यवस्था गरेर पनि आमाका नामबाट नागरिकता नपाएको विषयलाई आफूले गम्भीर रूपमा लिएको बताएकी छिन् । 

एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले मंगलवार राजधानीमा आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उनले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाइन् । 

महिला नै निर्णायक भूमिकामा हुँदा पनि महिलाले न्याय नपाएको उपाध्यक्ष अर्यालको टिप्पणी छ । राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ संकेत गर्दै उनले नागरिकता विधेयक पास भएको भए अहिले लाखौँ महिलाले न्याय पाइसक्ने उनले बताइन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले संसदमा पेस गरेर राष्ट्रपतिकहाँ पठाएको सो विधेयक राष्ट्रपति भण्डारीले रोकेकी थिइन् । अहिले फेरि सोही विचार मिल्नेहरु एक ठाउँमा आएकाले सो विधेयक फेरि अघि बढ्नेमा उपाध्यक्ष अर्यालले विश्वास व्यक्त गरिन् ।  



प्रविधिको प्रयोगले महिला नै बढी पीडित भएका घटना आएकाले यसमा सजगता अपनाउन आग्रह गर्दै उनले साइबर अपराधका उजुरी काठमाडौंमा मात्र दर्ता हुँदा समस्या आएको बताइन् । यसबारे धेरै जिल्लाबाट गुनासा आएको उल्लेख गर्दै उनले गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् । 



महिला हिंसाका घटनामा महिला दह्रो भए कसैको केही नचल्ने बताइन् । महिलाबाट पुरुषलाई पनि हिंसा भएका घटना आउन थालेकाले कसैप्रति पनि हिंसा नहुने वातावरण बनाउनुपर्नेमा उपाध्यक्ष अर्यालले जोड दिइन् । 

महिला, कानून र विकास मञ्चकी अध्यक्ष अधिवक्ता नेहा गुरुङले महिलाले आफू सुरक्षित हुन कानुनी ज्ञान राख्नुपर्नेमा जोड दिइन् । 

सो अवसरमा प्रविधिले महिला, किशोरी र बालिकामा पारेको नकारात्मक प्रभावका बारेमा कविता, नाटकलगायत प्रस्तुत गरिएको थियो ।

  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार १८:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया